राजनीति

निर्वाचन जितेको एक महिनामै नगर प्रमुखले गरे निजीे लगानीमा सडक ग्र्राभेल

डडेल्धुरा, २ भदौ । स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्र्राभेल गर्ने कार्य सुरु गरेका छन् । सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्र्राभेल गरेका हुन् ।
नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका साउदले उक्त रकम जनताको र नगर कमिटीको सहमतिमा नगरको विकासमा खर्च गर्ने समेत बताउँदै आएका छन् ।

नगर प्रमुखमा निर्वाचित भइसकेपछि परशुराम नगरको हरेक विकासका लागि लागि पर्ने भएकाले सो कुराले परशुरामवासी जनतालाई केही हदसम्म राहत हुँदै आएको छ ।

परशुराम नगरपालिकाका प्रमुख साउदको व्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका–१, २ र ४ का ग्रामीण सडकमा ग्राभेल गरिएको हो । परशुराम नगरपालिकाको जोगबुडा रुपाल सडकखण्ड र कटालको कालिगोई बजार जोड्ने तथा लालढुंगा बजारदेखि गोजा कटाल जोड्ने करिब ५०० मिटर ग्रामीण सडक खण्डमा ग्राभेल गरिएको परशुराम नगरपालिका–१२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

खाल्डाखुल्डी भएको ग्रामीण सडकमा ग्राभेल गरिएसँगै स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको स्थानीय कलावती भट्टराईले जानकारी गराए ।

वर्षाको समयमा हिलाम्य ग्रामीण सडकमा आवतजावत गर्न स्थानीयवासीको दुःखलाई मध्यनजर गरी ग्राभेल गरिएको प्रमुख साउदको भनाइ छ ।

स्थानीय जनताका समस्यालाई समाधान गर्न आफू तयार रहेको प्रमुख साउदको भनाइ छ । भित्री मधेस क्षेत्रको विकासका लागि सर्वसाधारण, सरोकारवाला निकाय र राजनीतिक दलले सहयोग गर्नुपर्नेमा नगरप्रमुख साउदले जोड दिए ।

साउदको व्यक्तिगत लगानीमा हिलाम्य सडकमा भएका खाल्डाखुल्डीमा ग्राभेल गरिँदा गाडी सञ्चालनमा सहज भएको छ ।