राजनीति

संविधान संशोधनबारे राप्रपाले फेरि दियो यस्तो प्रतिक्रिया

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ । परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अधिकांश नेताले अहिले पार्टीको एकताका लागि प्रस्तावको विपक्षमा रहन नेतृत्वलाई सुझाएको बताइएको छ ।

यही भदौ ४ गते निर्वाचन आयोगले पार्टी विभाजनको विषयमा गर्ने निर्णयपछि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधनको विपक्षमा निर्णय लिने बताइएको छ । पार्टी विभाजनको प्रक्रियामा लागेका नेतालाई सो प्रक्रिया छाडेर मूलधारको पार्टीमा फर्कन आग्रह गरिएको प्रवक्ता पाठकले बताए । उनका अनुसार त्यसरी फर्कने नेता तथा पदाधिकारीलाई कारबाही नगरी पूर्ववत् स्थानमा जिम्मेवारी दिइनेछ ।

आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणमा विभिन्न पार्टीसँग तालमेल गरी आफ्नो सम्भावना नरहेका ठाउँमा अन्य दललाई सहयोग गर्ने तथा सम्भावना भएका स्थानमा अरू दलको सहयोग लिने रणनीति पनि लिइने बताइएको छ ।

राणालाई सत्तारुढ दलले फसाएको आरोप
हेटौँडा–राप्रपाका अध्यक्ष कमल थापाले राप्रपाका केन्द्रीय सदस्यलाई बन्धक बनाइएको भन्ने आरोपको खण्डन गर्दै पार्टी केन्द्रीय समितिको बैठक जहाँ पनि राख्न सकिने बताए ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पशुपतिशम्शेर जस्ता पुरानो राजनीतिज्ञलाई गलत कार्य र गतिविधि गर्न नसुहाउँदो विषय हो भन्दै उनलाई सत्तारुढ दलले फसाउने काम गरिरहेको आरोप लगाए । केन्द्रीय समितिका निर्णय यही भदौ ४ गते सार्वजनिक गरिने जनाइएको छ ।