शिक्षा

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

महोत्तरी । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् ।

विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन् । प्राविस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत, एकजना निजी शिक्षकका भरमा अहिले उक्त विद्यालय सञ्चालनमा छ ।

शिक्षकको पदपूर्ति हुन नसक्दा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी मारमा परेका छन् । शिक्षक अभावका कारण कक्षा ९ र १० का विद्यार्थीलाई एउटै कक्षामा राखेर एकैपटक शिक्षण गराइने गरेको सो विद्यालयका शिक्षक राजकिशोर यादवले जानकारी दिए । बहुशिक्षण कक्षा चलाएका कारण पठनपाठन प्रभावित बनेको उनको भनाइ छ ।

शिक्षकको अभावबारे बारम्बार जिल्ला शिक्षा कार्यालयलाई लिखित रुपमै गराउँदै आएको र अहिलेसम्म आश्वासन मात्र पाएको सो विद्यालयका प्रधानाध्यापक रामएकवाल यादवले बताए । शिक्षक अभावका कारण त्यहाँ भर्ना भएका विद्यार्थी गौशाला र सुन्दरपुरका विद्यालय पढ्न जाने गरेका स्थानीयवासी रामबाबु यादवले बताए । विसं २०१४ मा सो विद्यालय स्थापना भएको हो ।