राजनीति

मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत होस् : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ मा असोज २ गतेका लागि तय स्थानीय तहको निर्वाचन कार्यक्रम शुरु हुनुअघि नै त्यस क्षेत्रमा कायम भएका मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत गरिसक्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका पदाधिकारीले केही दिनअघि त्यस क्षेत्रमा गरेको निरीक्षण भ्रमणका क्रममा देखिएको समस्याबारे कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई जानकारी गराउँदै आयोगले यस्तो आग्रह गरेको हो ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि यही भदौ १२ गते निर्वाचन अधिकृत खटिने छन् । त्यसअघि नै मतदान केन्द्रसम्म पुग्ने बाटो सञ्चालन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगका पदाधिकारीसँग छलफल गर्न कान्तिपथस्थित निर्वाचन आयोग पुगेका कार्यबाहक प्रधानमन्त्री गच्छदारले आयोगले उठाएका विषयलाई सकारात्मक र गम्भीररुपमा लिई सरोकार राख्ने निकायसँग छलफल गरेर मतदान अधिकृत, उम्मेदवार र मतदातालाई सहजरुपमा मतदान केन्द्रसम्म पुग्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यबाहक प्रधानमन्त्री गच्छदारले हालै आएको वर्षा र बाढीले त्यस क्षेत्रमा सडक भत्काउनाका साथै पुल बगाउँदा मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको र त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिने जानकारी दिए ।

उनले भने, “सेनालाई जिम्मेवारी दिएर हुन्छ वा अरु के गर्न सकिन्छ, यो विषयमा सरोकारवालासँग भोलि नै छलफल गरेर शीघ्र बाटो र पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्याइने छ । मतदान केन्द्रसम्म जाने अवस्थाको सिर्जना हामी गर्छौं ।”

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐन छिटो पारित होस् भन्ने आयोगको मागमा केन्द्रित रहेर प्रधानमन्त्री, सभामुख र आफूबीच आजै पनि छलफल भएको उनले जानकारी दिए ।

कार्यबाहक प्रधानमन्त्री गच्छदारले भने, “कानून छिटो पारित गर्छौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ । आयोगले मंसिर ४ र २१ गतेका लागि प्रस्ताव गरेको थियो, त्यसमा आयोगको केही भनाइ छ भने स्पष्ट गर्न सकिन्छ । तर मंसिर १० मा निर्वाचन हुुनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ ।”