राजनीति

यसरी तात्दैछ प्रमुख राजनीतिक दलहरु र राजपाको प्रदेश नम्बर २ को राजनीति !

काठमाण्डौ । सरकारी संंयन्त्र, राजनीतिक दल र निर्वाचन आयोगको ध्यान यतिबेला देशको दुई नम्बर प्रदेशमा केन्द्रित छ ।  गत वैशाख ३१ गते देशभर एकै साथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको सरकारले दलहरुकै विभाजनलगायतका कारण अन्ततः तीन चरणमा गर्ने निणर्य गर्यो ।

दुई चरणको निर्वाचन छिटफुट घटनाबाहेक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगको दावी छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाको कमी, मतपत्र र पतपेटिकाको सुरक्षा र दोस्रो चरणको चुनाबमिति बर्षाको समयमा भएको भनि केही टिका टिप्पणी भएपनि अब हुन लागेको दुई नम्बर प्रदेशको चुनाबमा राज्य शक्ति नै लागि पर्दैछ भने मौसममा पनि सुधार हुने संकेत देखिएको छ ।

दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा १३६ स्थानीय तहमा आगामी असोज २ गते चुनाब हुदैछ । प्रदेश नम्बर दुईका ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् । यो निर्वाचनबाट ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वाचित हुनेछन् । यो निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगले जनाएको छ ।

पटक–पटक छलफल र वार्तामा बसेर पनि चुनाबमा आउन नमानेको राजपा अन्ततः संविधान संशोधन संसदमा पास हुन नसकेपछि भने त्यही मुद्दालाई लिएर चुनाबमा होमिएको छ । विभिन्न मागसहित राजपाले चुनावमा सहभागी नहुने भनिरहँदा दुई नम्बर प्रदेशको ८ जिल्ला अन्योलमा थियो । यद्यपी अब भने त्यो अन्योलता हार जीतमा सिमित भएको छ ।

राजपाको निर्णय संगै निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दलहरु अत्यन्तै व्यस्त छन् ।
मुख्य गरी नेपाली कांग्रेसले राजपाको बाहानामा आफू अनुकुलको निर्णय गरेको राजपासहित केही अन्य दलका प्रतिनिधीले आरोप लगाउदै आएका भएपनि यतिबेला सबैजसो दलहरु आफ्नो जीत सुनिश्चित बनाउन दावीकासाथ चुनाबी प्रचार–प्रशारमा लागि परेका छन् ।

चुनावमा सहभागी हुने औपचारिक निर्णयलगत्तै राजपाका शीर्षस्थ नेताहरू यतिबेला चुनाबी दौडाहामा दुई नम्बर प्रदेश तर्फ लागेका छन् । संविधान संशोधनको मुद्दालाई लिएर सिंहदरवारकै आसपास घुमिरहेका उनीहरु अहिले भने जिल्लाका नेता तथा कार्यकर्ता माझ चुनाबी एजेण्डालाई बुलन्द बनाउने प्रयत्नमा छन् ।
हिजोदेखि उमेद्वारी चयन प्रक्रिया शुरु गरेको सो पार्टीले आज दल दर्ता गराउँदैछ । राजपाले आफ्नो चुनाबी गतिबधिलाई पार्टीको केन्द्रीय कार्यालय जनकपुरबाट सञ्चालन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री जितेन्द्र सिंहले बताए ।

पर्सादेखि सप्तरीसम्मका ८ वटै जिल्लामा उम्मेद्वार छनोटसँगै चुनावी तालमेलको अवस्था अध्ययन गर्न पनि यतिबेला ८ केन्द्रीय पर्यवेक्षक सो क्षेत्रमा पुगेको महामन्त्री सिंहको भनाइ छ । सोही अनुरुप उम्मेदवार छनोट प्रक्रियाका लागि पर्सामा पार्टीका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, बारामा कञ्चनपुरकी पूर्वसभासद मालामती राना थारू, रौतहटमा उपाध्यक्ष सत्यनारायण मण्डल, सर्लाहीमा उपाध्यक्ष शेखरकुमार सिंह, महोत्तरीमा उपाध्यक्ष गोविन्द चौधरी, धनुषामा कोषाध्यक्ष अरुण सिंह, सिरहामा उपाध्यक्ष गजाधर यादव र सप्तरीमा कपिलवस्तुका सांसद नरसिंह चौधरी उम्मेदवारी छनोटदेखि तालमेलको अवस्था अध्ययनका लागि जिल्ला–जिल्ला पुगेका छन् ।

चुनावको तयारीसँगै राजपामा आन्तरिक द्वन्द्व पनि शुरु भएको छ । चुनाबमा टिकट लिने विषयमा हिजो शुक्रबार पर्साको वीरगन्जमा कार्यकर्ताबीच झडपसमेत भयो । वीरगन्ज महानगरपालिकाको मेयरको टिकट पाउन दुई समूहबीच भएको शक्ति प्रदर्शनले उम्मेदवार छनोट प्रक्रिया स्थगित भएको छ । दुवै समूहले चर्का नाराबाजी गर्दै आफ्नो उम्मेदवारलाई टिकट दिन दबाब दिएका थिए ।

६ दल मिलेर गठन भएको राजपामा एकले अर्कालाई नेता मान्ने वातावरण अझै बनिसकेको छैन । जे होस् संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राजपाले यतिबेला आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रित गराएको छ ।

अघिल्ला दुई चरणको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेले आफ्नो प्रतिस्पर्धी अब पनि नेपाली कांग्रेस नै रहेको भन्दै यस निर्वाचनबाट पनि आफ्नो पार्टी पहिलो हुने दावी गरिरहेको छ । यस्तै नेपाली कांग्रेसले आफ्नो जीत फरक नपर्ने भन्दै पार्टीले सोही अनूरुपको रणनीति तयार गरिरहेको जनाएको छ । भने तेस्रो बनेको नेकपा माओवादी केन्द्रले पनि आफ्नो बल प्रयोग गरिरहेको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ ।

निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन राष्ट्रपतिबाट सेनापरिचालनको अनुमति पाएपछि सरकारले नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।
लगातारको बर्षाले डुबाएको तराईको जनजीवन सामान्य अवस्था तर्फ उन्मुख भइरहँदा यो चुनाबलाई मौसमले पनि साथ दिएको छ । भने चाड–पर्व नजिकिदै गरेको समयमा हुन लागेको यो चुनाब रोमाञ्चक बन्ने देखिन्छ ।

मुलुकमा हाल ७५३ स्थानीय तह कायम रहेकामा त्यसमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको संख्या रहेको छ ।
जस मध्ये मुलुकको प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानमा वैशाख ३१ तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते निर्वाचन भएको थियो ।

सो निर्वाचनबाट १७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४२३ उम्मेदवार विजयी भएका थिए । तीमध्ये १६ हजार ७९३ पुरुष र ११ हजा ६३० महिला निर्वाचित भएका छन् ।