पु.समाचार

के तपाइँ जथाभावीरुपमा पार्किङ गर्नुहुँदै छ ? अब सतर्क रहनुहोला ! महानगरद्वारा ट्राफिकलाई ५० थान ह्विल लक प्रदान !!

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ ।

महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज सो ह्विल लक प्रदान गरेको हो । जथाभावीरुपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि महानगरपालिकाले महाशाखालाई उक्त सामग्री प्रदान गरेको हो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन नगर प्रहरीको ठूलो सहयोग रहेको बताउँदै जथाभावीरुपमा गरिने सवारी पार्किङ, फुटपाथ हटाउने र महानगरलाई व्यवस्थित गर्न नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महानगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन महाशाखाले महानगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै फुटपाथका कारण पैदलयात्रुलाई हिँड्न समस्या परेको हुँदा यसलाई सहज बनाउन महानगरपालिका लाग्नुपर्ने बताए ।

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन नगर प्रहरीले महत्वपूर्ण काम गरेको बताए ।

२५ वर्ष अगाडि स्थापना भएको नगर प्रहरीमा हाल २०० को हाराहारीमा प्रहरी कार्यरत छन् ।