पु.समाचार

चीनमा सम्पर्क विस्तारबारे छलफल

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज बिहान चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरर्राष्ट्रिय विभागका मन्त्री सङ ताओसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुबीच दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुर रहेको बताए ।

चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’को अवधारणा नेपालको अर्थतन्त्रलाई उकास्न तथा पुनर्जीवन दिन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।

यसैगरी शनिबार अपराह्न उपप्रधानमन्त्री महराले ग्वाङ्जाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।