राजनीति

शीर्ष नेता निर्बाचन अभियानसंगै तराईमा, यसरी लिदैछन् काँग्रेसभित्रको गुटबन्दीको फाईदा एमाले र माओबादी

राजबिराज । स्थानीय तहमा आफ्नो उम्मेदवारका पक्षमा माहोल बनाउन पार्टीका शीर्षनेताहरू नै चुनावी अभियानमा खटिइरहेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले मंगलबार सिरहाको जिरोमाइलमा आयोजित जनसभालाई सम्बोधन गरे । त्यसलगत्तै उनीहरू राजविराजतिर लागे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सम्बोधन गर्दै छन् । एमाले महासचिव ईश्वर पोखरेल दुई दिन बसेर फर्किइसके । एमाले सचिव प्रदीप ज्ञवाली, योगश भट्टराई पार्टी रणनीति बनाउन यसै क्षेत्रमा केन्द्रित थिए । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र लीलामणि पोखरेल पनि खटिइरहेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिहीबार आउँदै छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव तीन दिनदेखि यसै क्षेत्रमा खटिएका छन् ।

सिरहाका १७ स्थानीय तहमा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादीबीच चर्को भिडन्त सुरु भएको छ । यहाँ ८ नगरपालिका र ९ गाउँपालिका छन् । विगतमा यहाँ कांग्रेसको वर्चस्व देखिए पनि यसपालि पार्टीभित्रकै अन्तरविरोध व्यवस्थापन गर्दैमा ठिक्क छ । कांग्रेसभित्रको चर्को असन्तुष्टिको फाइदा लिन एमाले र माओवादी केन्द्र दौडधुपमा छन् ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले छोरा सुवासलाई सिरहा नगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी जिल्ला सचिव उपेन्द्र यादवलगायत देउवापक्षीय कार्यकर्ता असन्तुष्ट छन् । केन्द्रीय सदस्य पद्मनारायण चौधरी, चित्रलेखा यादवले आआफ्ना निकट र गुटकालाई उम्मेदवार बनाएका छन् । ‘त्यसैको फाइदा लिने होडमा माओवादी, एमाले र संघीय समाजवादी फोरम छन्,’ कांग्रेसका एक जिल्ला नेताले भने, ‘पार्टी सभापति देउवाले केही गरी मिलाउनुभए मात्रै, नत्र कांग्रेसले आफ्नै कारणले धेरै स्थान गुमाउनेवाला छ ।’

कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव भने असन्तुष्टि मत्थर हुँदै गएको दाबी गर्छन् । ‘हो, डर त हामीलाई बाहिरबाट भन्दा कांग्रेसभित्रबाटै छ’ उनले भने, ‘तर असन्तुष्टिको स्वर अहिलेसम्म धेरै कम भइसकेको छ ।’

सिरहाको असन्तुष्टि साम्य पार्न कांग्रेस नेता शेखर कोइराला र रमेश लेखकसमेत जिल्ला आएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो संविधानसभा चुनावमा यही जिल्लाको क्षेत्र नं ५ बाट निर्वाचित भएका हुन् । कांग्रेस र एमालेभित्रको असन्तुष्ट मत तान्न सकिने माओवादीको आस छ । कांग्रेसमा उम्मेदवारीको विषय र एमालेमा मधेस मुद्दामा पार्टीको भूमिकालाई लिएर स्थानीय असन्तुष्ट रहेको माओवादीको बुझाइ छ ।

प्रचारमा प्रतिस्पर्धी मुख्य दलकै होडबाजी छ । एउटा दल गाउँमा पुगेलगत्तै अर्को दल पुगिहाल्छ । विपक्षीका गतिविधि बुझ्न सबैले गाउँगाउँमा प्रतिनिधि खटाएका छन् । मंगलबार लहानको दक्षिणी भेग चमारगाउँमा माओवादी केन्द्रको पछिपछि संघीय समाजवादी फोरम प्रचारमा थियो । त्यसलगत्तै एमाले–कांग्रेसका प्रचार टोली पुगे । माओवादी केन्द्रका यसै क्षेत्रका इन्चार्ज विश्वनाथ साहले सिरहामा ५ नगरपालिकासहित १० स्थानीय तहमा आफूहरूले जित्ने बताए । त्यस्तै दाबी कांग्रेस र एमालेको पनि छ । ‘हामीलाई मधेसीविरोधीको ट्याग भिराए पनि एमालेको स्थानीय संगठनमा कुनै असर गरेको छैन,’ एमालेका यसै क्षेत्रका इन्चार्ज सत्यनारायण मण्डलले भने, ‘सबै जिल्लामा हामी एक नम्बर हुन्छौं ।’ दोस्रो संविधानसभा निर्वाचनमा यहाँ कांग्रेसले ४, एमाले र माओवादीले एकरएक निर्वाचन क्षेत्रमा जितेका थिए । अब त्यस्तो स्थिति नआउने संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादव बताउँछन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने फोरम नेपाल ५ नम्बर क्षेत्रमा र क्षेत्र नं। १ मा एमाले विजयी भएको थियो । ‘अहिले पनि हामी धेरै नगरसहित कम्तीमा १२ स्थान जित्दै छौं,’ उनले भने, ‘जिल्लामा हाम्रो मुख्य प्रतिस्पर्धी नै कांग्रेस हो ।’ राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव फोरम नेपालभन्दा आफूहरूको स्थिति सुदृढ रहेको बताउँछन् । ‘कांग्रेस र राजपाबीच नै पहिले हुने प्रतिस्पर्धा हो,’ उनले भने, ‘त्यसपछि मात्रै अरू दल आइपुग्छन् ।’

यसैबीच तेस्रो चरणको स्थानीय निर्वाचनका क्रममा नेपाली कांग्रेसले मंगलबार २ नम्बर प्रदेशको राजविराजमा चुनावी सभा गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेता एकसाथ सभामा सहभागी भए ।

सभामा कांग्रेस नेताहरू एमालेप्रति आक्रामक देखिए । मुलुकको समस्या समाधानमा एमाले बाधक रहेको आरोप लगाउँदै उनीहरूले मधेसी जनताले स्थानीय चुनावमा यसको गतिलो जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्री एवं सभापति देउवाले भने, ‘एमाले एकदलीय तानाशाही व्यवस्था लाद्न खोज्ने पार्टी हो, मधेसी जनताले यसपटकको निर्वाचनमा एमालेलाई जवाफ दिनैपर्छ ।’

कांग्रेसले मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव संसद्मा लगेकोमा एमालेले असहयोग गरेका कारण दुई तिहाइ पुर्‍याउन नसकिएको देउवाले बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले मधेसमा केही दिनअघिको बाढीको प्रसंग पनि उठाए । भारतले सीमाक्षेत्रमा बनाएका अग्ला बाँधका कारण तराई डुबानमा पर्दै आएको उनले आरोप लगाए । ‘यस वर्ष तराईका जिल्ला बाढीले धेरै प्रभावित भए,’ उनले भने, ‘सप्तरीमा कोसीका कारण समस्या भयो भने भारतले सीमामा बनाएका बाँधका कारण पनि तराई डुबानमा पर्‍यो ।’ भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसित सीमा बाँधका कारण नेपाली भूमि डुबानमा परेको, कोसी ब्यारेज निर्माणताकादेखि नै नेपालीले मुआब्जा नपाएको विषय राखेको उनले बताए । दुवै देशका प्राविधिक सम्मिलित टोलीले अध्ययन गरी डुबान समस्याको दीर्घकालीन समाधान खोज्ने विषयमा भारतीय प्रधानमन्त्रीसित सहमति भएको देउवाले जनाए ।

सभामा नेता पौडेलले एमाले, दक्षिणपन्थी र प्रतिगमनकारी शक्तिका कारण संविधान संशोधन हुन नसकेको भन्दै कांग्रेस मधेसी जनताको भावनाअनुसार संशोधनकै पक्षमा रहेको बताए । मधेस, कांग्रेस र लोकतन्त्र एकअर्काका पर्यायवाची रहेको जनाउँदै पौडेलले तराई मधेसको सम्मान र पहिचानको पक्षमा कांग्रेस उभिएको बताए । महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट नेताहरू उमेरले पाको भए पनि बुद्धि नभएको आरोप लगाए । उनले मधेस र मधेसी जनताको मुद्दा कांग्रेसको भएको दाबी गर्दै कांग्रेसको नेतृत्वमै मधेसलाई समृद्ध बनाउन सकिने ठोकुवा गरे ।

कान्तिपुरका अनुसार, पार्टी कोषाध्यक्ष सीतादेवी यादवले मधेसी जनता एमालेबाट सधैं अपमानित भएको आरोप लगाइन् । ‘एमालेले सधैं मधेसी जनतालाई अपमानित गर्‍यो, मधेससवादी दलले पार्टीको दुकान नै खोले, त्यसैले मधेसको माग सम्बोधन कांग्रेसकै नेतृत्वबाट सम्भव छ ।’ नेता विमलेन्द्र निधिले संविधान संशोधनमा असहयोग गरेर एमालेले बेइमानी गरेको आरोप लगाए ।