अन्तर्राष्ट्रिय

जापानी आकाशमा फेरि हान्यो उत्तरकोरियाले क्षेप्यास्त्र

एजेन्सी । उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन्।

राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

टोकियोस्थित अन्तर्राष्ट्रिय सञ्चामाध्यामका अनुसार उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको हो। जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ।

सेप्टेम्बर ३ तारिख एउटा हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धहरु पारित गरेको थियो।