विचार/ब्लग

शिक्षामा जेष्ठ नागरिकका मुद्दा सम्बोधनका सवाल

विषय प्रवेश :-
नेपालमा ६० वर्षमाथिका नागरिकलाई जेष्ठ नागरिक मानिएको छ । जेष्ठ नागरिकको अर्थ समाजका उमेरमा जेष्ठ हुनु तथा ज्ञान, अनुभव र सिकाइका भण्डार हुनुलाई मानिन्छ । परिवार, समाज र देशका अभिभावक पनि हो । यी जेष्ठ नागरिकलाई घर, परिवार, समाज र देश तथा अन्तर्राष्द्रले कस्तो व्यवहार गरिरहेको छ ? शिक्षामा पाठ्यक्रम तथा शिक्षण पद्धतिले यी विषयलाई कसरी लिएको छ ? कसरी लिनु पर्ने हो ? व्यवहारमा के देखिएको छ ? समग्रमा जेष्ठ नागरिकका विषयमा राज्यका कानुनी व्यवस्था र राज्य सञ्चालकहरुका  प्रतिवद्धता हाम्रो देश तथा विश्वमा कस्ता छन् ? यिनै विषयवस्तुलाई लेखमा पस्किने जमर्को गरिएको छ । शिक्षा पद्धतिले बालबालिकाहरुमा जेष्ठ वा वृद्धवृद्धाप्रति श्रद्धाभाव जगाउने तथा आफ्ना घरपरिवारमा खेल्नुपर्ने भूमिकाका विषयवस्तुले समेत लेखमा स्थान पाएको छ । समाजको विकासक्रमको पछिल्लो चरणमा समाजमा धेरै भौतिकतावादी, यान्त्रिकता र नितान्त व्यक्तिगत स्वार्थ संयुक्त परिवारबाट टुक्रिएर स–साना एकल परिवारप्रति आकर्षित हुँदै जाँदा स्थानीय  गाउँ, ठाउँ छाडेर शहरप्रति मोह बढ्दा वृद्धवृद्धाहरु एक्लै गाउँमा बस्ने वा कमाउनेहरुबाट उपेक्षित हुने क्रम बढेको छ । यस कारण शिक्षा पाठ्यक्रममा जेष्ठ नागरिकको सम्मानजनक जीवन यापनको विषयवस्तुले स्थान पाउनु पर्दछ भन्ने लेखको जोड छ ।

-ईश्वरीप्रसाद पोखरेल

अन्तर्राष्द्रिय कानुन तथा नेपाल र जेष्ठ नागरिक : जेष्ठ नागरिकका पक्षमा संयुक्त राष्द्र संघको महासभाबाट १६ डिसेम्बर १९९१ को ७४ औँ बैठकबाट पारित सिद्धान्तलाई नेपालले अनुसरण गरेको छ । सन् १९९१ अक्टोबर १ देखि विश्व अन्तर्राष्द्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिएको छ । विश्वमा जेष्ठ नागरिकको संख्या बढ्दो र बाँच्ने उमेरसमेत बढीरहेको अवस्था छ । वि.स. २०६८ तदनुसार सन् २०११ को नेपालको जनगणनामा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाखभन्दा बढी जेष्ठ नागरिकहरु रहेका छन् । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । यो संख्या सन् २०५० सम्म २ अरब पुग्ने अनुमान गरिएको छ । जेष्ठ नागरिकहरु विविध कारणबाट आफ्ना सन्तानहरुबाट अलग भई वृद्धवृद्धाहरु अलग वा स्याहार केन्द्रहरुमा बस्नेको संख्या वृद्धि भइरहेका बेला विश्व तहमा नै प्रत्येक वर्ष जेष्ठ नागरिक दिवस मनाउने गरिएको छ । यसर्थ देशभित्र मात्र होइन बाहिरका जेष्ठ नागरिकहरुका लागि के कस्ता मूल्यमान्यताहरु हिजो थिए र आजको सभ्य तथा विकसित समाजमा के कस्ता संरचनाहरु स्थापित वा प्रतिपादित गरिएका छन् ? विश्व तहमा प्रतिपादित सिद्धान्तहरु प्रत्येक देशका नागरिकले जेष्ठ नागरिकका बोरमा पढ्नु र आफ्ना सन्तानलाई पढाउनु आवश्यक हुन्छ । जेष्ठ नागरिकलाई आवश्यक ठानिएका आधारभूत स्वतन्त्रता, सहभागिता, हेरविचार, आत्मइच्छा परिपूर्ति र आत्मसम्मानको जीवन कसरी हुन सक्छ र कसरी सुखसाथ जीवन बाँच्ने आधार तयार हुन सक्दछ त्यही अनुरुप समाज र राज्यले आधार तयार गर्नु पर्दछ । जेष्ठ नागरिकका विषय सबै तह, वर्ग र हैसियतका नागरिकका लागि अतिनै महत्वपूर्ण र आवश्यक छन् । त्यसमा पनि समाजका गरिब तथा पछौटेपन र समाजबाट कुसंस्कारका कारण अपहेलित वृद्धवृद्धाहरुको अवस्था दयनीय छ । तसर्थ उनीहरु शारीरिक, मानसिक, आर्थिक र सामाजिक हरतरहले एक्लो, असहाय हुँदै गएका छन् । यसर्थ विश्व तहको सिको गरेर प्रायः सबै जसो मुलुकहरुले जेष्ठ नागरिकको लामो अनुभव, आफ्नो योग्यता, क्षमता र हैसियत अनुरुप उनीहरुले आफ्नो देशलाई पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई खुशी राजी राखेर आशीर्वाद लिने वातावरण मिलाउन थालेका छन् । घर परिवारमा नै स्थापित गरी समृद्ध र सुखद जीवनको प्रारम्भ गर्ने वातावरण नवपुस्ताको मानसिक परिवर्तनबाट थाल्नु पर्दछ ।

 जेष्ठ नागरिक पक्षका राष्ट्रिय कानुन, कार्यान्वयन र अभ्यास : नेपालले अन्तर्राष्द्रिय मञ्चहरुमा आफ्ना सबै नागरिक, बालबालिका, असहायहरुप्रति राज्यको दायित्व र जवाफदेहिताका विषयमा जसरी धारणा राख्दै आएको छ, त्यसरी नै वृद्धवृद्धाका पक्षमा व्यक्त गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्न पछिल्लो पटक संविधासभाबाट जारी संविधानमा नै उच्च महत्वकासाथ सम्बोधन गरेको छ । नेपालको मुलुकी ऐनदेखि विद्यमान अवस्थासम्मका प्रावधान र कार्यान्वयनका अभ्यासलाई तपसिलमा उल्लेख गरिएको छ ।

– नेपालको संविधानको धारा ४१ मा जेष्ठ नागरिकको हक को व्यवस्था गरी जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने ।

– स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ९६ को उपदफा २ (१)मा वृद्ध तथा अनाथ आश्रमहरुको व्यवस्था सम्बन्धी प्रावधान राखिएको एवम् उक्त ऐनको दफा १८९ को १(च)मा राष्ट्रिय नीति अनुरुप, अनाथ बालबालिका, असहाय, वृद्ध, महिला आदिको संरक्षण कार्यसम्बन्धी कानुनी व्यवस्थाको सुनिश्चितता गरिएको ।

–    मुलुकी ऐन अदालती बन्दोबस्त दफा ११ मा जेष्ठ नागरिकका मुद्दालाई प्राथमिकता दिने उल्लेख छ ।

 – मुलुकी ऐन अदालती बन्दोबस्तको महल ८३ मा वृद्ध अवस्था वा कडा रोग लागेका जेष्ठ नागरिकको हकमा अड्डाको अनुमतिमा एकासंगोलमा बसेको १६ वर्ष नाघेको व्यक्तिले त्यस्ता वृद्ध वा असक्तको हकमा नालेस गर्न सक्ने व्यवस्था गरिएको ।

– मुलुकी ऐन अदालती बन्दोबस्तको महल १४२ मा अड्डामा आउन नसक्ने वृद्धवृद्धाको बकपत्र लेखी ल्याउन हाकिम आफै गई वा आफूभन्दा मुनिको सबभन्दा ठूलो दर्जाको कर्मचारी खटाउने निर्देश गरेको छ र अंशवण्डाको महलमा बाबु आमा, छोराछोरीको जिउ जिउको अंश लाग्ने व्यवस्था गरेको ।

– जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा ४ मा जेष्ठ नागरिकको सम्पत्ति उपभोग गर्ने परिवारका सदस्य , नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह गर्नुपर्ने व्यवस्था ।

– सोही ऐनको दफा ३ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ भनी उल्लेख ।– जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा ९ मा परिवारका सदस्य , नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेमा जेष्ठ नागरिकले गाउँ विकास समिति वा नगरपालिकामा उजुरी गर्ने र ती निकायले दिएको आदेश नमान्ने व्यक्तिका हकमा ती निकायले गर्नुपर्ने कुनै पनि कागजातमा सिफारिस नगर्ने व्यवस्था राखी जेष्ठ नागरिकप्रति जवाफदेही हुन बाध्य पार्न खोजिएको ।

 – जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा ९ ले जेष्ठ नागरिकलाई राज्य, व्यवसाय वा आधिकारिक निकायबाट प्रदान गर्नुपर्ने छुट सुविधासमेत तोकेको ।

– जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ ले ६० वर्षमाथिकालाई जेष्ठ नागरिक तोकेको भएपनि सोही ऐनको नियमावलीको नियम १४ (क)मा ७० वर्ष उल्लेख छ, त्यसरी नै जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६५ मन्त्रीपरिषदको निर्णयबाट संशोधनमा विभिन्न समूह छुट्टाई ६० वर्ष भन्दामाथि र सामान्यतया ७० वर्षमाथिका लाई तोेकेको देखिन्छ (स्रोत जेष्ठ नागरिकमाथि भएका दुव्र्यवहारसम्बन्धी प्रकाशित समाचारहरुको अध्ययन, २००८– २०१० पेज ११ र १२ ) ।

नेपालका जेष्ठ नागरिक र राज्यका सेवासुविधा : जेष्ठ नागरिक सामाजिक सुरक्षा अवधारणाको कार्यान्वयन चरणको स्मरण गर्दा नेपालमा स्वर्गीय भूतपूर्व प्रधानमन्त्री तथा कम्युनिष्ट नेता मनमोहन अधिकारीको नामलाई नेपालका सबै वृद्धवृद्धाहरुले श्रद्धासाथ लिने गर्दछन् । आफ्नो पाखुरीले काम गर्न नसक्ने र घरपरिवारका समर्थ सदस्यहरुबाट आवश्यकता सम्बोधन नहुने पीडामा बाँचिरहेका समाजका वृद्धवृद्धालाई उनीहरुका स साना आवश्यकतामा परिवारको मुख ताक्न नपरोस् भन्ने उद्देश्यका साथ वृद्धभत्ताको अवधारणा ल्याई प्रारम्भकर्ताका रुपमा अधिकारीको नाम अग्रस्थानमा राखिन्छ । सानो सहयोग नै सही उनको त्यो अभियान र थालनी नै नेपालका वृद्धवृद्धाको मन जित्न सफल हुँदै क्रमशः अपाङ्ग, असहाय र विधुवासमेतले सामाजिक सुरक्षा भत्ता पाउन थाले र सो कार्यले निरन्तरता पनि पाएको छ । हाल नेपालमा जेष्ठ नागरिक, एकल महिला तथा विधुवालाई प्रति महिना रु १०००।- तथा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई औषधी उपचार खर्च वापत् प्रति महिना रु १०००।- दिने व्यवस्था छ र स्थानीय निर्वाचनमा वृद्धवृद्धा सुविधाको राजनीति पनि व्यापक फस्टाएको छ । यसको लोकप्रियताले देशभित्र मात्र स्थान पाएन प्रकारान्तरले छिमेकी मुलुकहरुमा सामाजिक सुरक्षा भत्ता पाउने अवस्था आयो र ठूला देशका जनताले सानो देशको अवधारणाबाट लाभ उठाउँदे जाँदा हाम्रो आर्थिक अवस्थाले गर्दा नेपाल राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षाभत्तालाई धेरै उछिनीसकेको देखिन्छ । यसबाट राम्रो धारणा र विचार जसले कार्यान्वयन गरे पनि अरुले सिक्दोरहेछ र सबै ठाउँका जनताले स्मरण गर्दा रहेछन् भन्ने प्रमाणित भएको छ ।  माथि उल्लिखित मूल्यमान्यताका आधारमा नेपालले जेष्ठ नागरिकका लागि स्वास्थ्य, सार्वजनिक यातायात तथा विविध क्षेत्रमा सेवासुविधा र मासिक भत्ता तथा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको देखिन्छ । यसबाट लाखौंलाख वृद्धवृद्धाहरु प्रत्यक्ष र उनका पालनपोषक घरपरिवारका सदस्यसमेत अप्रत्यक्ष रुपमा ठूलो मात्रामा लाभान्वित भएको पाइन्छ । यस्ता परोपकारी वा सामाजिक दायित्वका सरकारी अभियानबाट सरोकारवालाहरुले प्रशस्त न्याय पाएको महसूस हुन्छ । यसर्थ राज्य वा समाजबाट प्राप्त हुने न्यायिक अधिकारका लागि प्रत्येक सचेत नागरिकले आवाज उठाउनै पर्दछ र प्राप्त सेवासुविधाको सदुपयोग गर्नुपर्दछ ।

वृद्धाश्रमका वृद्धवृद्धाहरु ३१ वर्ष सरकारी सेवामध्ये २३ वर्ष वृद्धाश्रमकै जागीरमा बिताएका प्रह्लाद गिरी सेवा निवृत्त भएपछि पशुपतिमा धार्मिक सामग्री बिक्री गर्छन् र प्रायः प्रत्येक दिन वृद्धाश्रममा एक दुई घण्टा व्यतित गर्छन् । उनको लगाव वा नसा नै भएको छ वृद्धाश्रम नआए मनमा शान्ति नै हुँदैन । उनको अनुभवमा वृद्धाश्रमको सञ्चालन पद्धति र आश्रितहरुको गुनासो विचित्रको हुन्छ । तसर्थ मानिसले लिने आत्मिक सन्तुष्टि र असन्तुटिको व्यवहारसंग मिलन जाने संयोग मात्र हो, यथार्थता जन्मजात र घरपरिवारको वास्तविक संस्कार हो, भन्दा फरक नपर्ला । उनले जेष्ठ नागरिकहरु वृद्धाश्रममा कसरी आइपुग्छन् ? भन्ने विवरण यसरी खुलस्त गरे ।

– वृद्धाश्रममा आउनेहरु अपवादलाई छाडी भन्नुपर्दा प्रायः जसो पुरुषहरु छन् । जो आफ्नो गृहस्थ जीवन असफल भएका र यौवनकालमा पारिवारिक जिम्मेवारी बहन गर्नुभन्दा कुकर्म र गलत संस्कारमा रमाएका थिए । प्रायः कुसंस्कार अर्थात् जाँड, रक्सी मादक पदार्थ वा लागुपदार्थ, देहव्यापार तथा सामाजिक अपराध जस्ता कुसंगतका प्रभावले घर समाजमा स्थापित हुन नसकी उत्तरार्धमा दुःख पाएकाहरु पनि यहाँ आउँछन् । ती मानिसहरु असल संस्कार र व्यहार नभएका सामान्य मानवीयभाव पनि गुमाइसकेका हुन्छन् जस्तो अनुभव हुन्छ ।

– प्रायः महिलाहरु बाल्यकाल तथा यौवनावस्थामा घरेलु कामदार रहेका तथा घरानिया वा ठूलाबडा कहाँ भान्से आदिमा जीवन व्यतित गरेकाहरु बुढेसकालमा सहाराविहीन भई वृद्धाश्रमका शरणमा आउँछन् ।

– अधिकाँश वृद्धाहरु अनमेल विवाह,  अशिक्षा, चेतनाको कमी र घरपरिबारको अपहेलना सहन गर्न नसकी वा एक्लो जीवन चाह्ने र परिवारसंग मिलेर बस्न नसकेकाहरु काम गर्न नसक्ने भएपछि सडक हुँदै वृद्धाश्रममा आइपुग्छन् ।

– घरमा बस्न असहज भएका तथा स्याहार गर्ने नभएकालाई आफन्तहरुले नै सुख सुविधा र आनन्दको लोभ लालच देखाएर यहाँ ल्याएर अलपत्र छाडी जान्छन् र वृद्धाश्रम आश्रय दिन बाध्य हुन्छ ।

– कतिपय परिवारका सदस्यहरुले नै विभिन्न कठीनाइ सिर्जना गरी घर छाड्न बाध्य पार्छन र यहाँ ल्याई छाड्छन् ।

– उमेरले वृद्ध वा वृद्धा भएपनि मासु खानको उच्च चाह्ना गर्ने पनि धेरै हुन्छन् । उनीहरु शरीरले पचाउन नसक्ने गरी खाइदिने, जथाभावी फोहर र जथाभावी अस्थस्कर कार्य गर्ने गर्दछन् । सम्झाउँदा वा कुनै कुरा गर्दा अनावश्यक रिसाउने, आक्रोश व्यक्त गर्ने र असन्तुष्टिका आवाजहरु जथाभावी व्यक्त पनि गर्ने गर्दछन् । यी सबै तीता र नमिठा व्यवहार हुनुका कारणमा उनीहरुको जीवनका विगतमा भोगेका सुखदुखका घटना ताथ घटित पीडाका अनुभूति नै व्यक्त असन्तुष्टिहरु हुन् भन्ने कुरा नबुझ्नेहरुलाई यस्ता आश्रममा काम गर्न र उनीहरुलाई बुझ्न पनि धेरै नै कठीन हुन्छ ।

– काठमाडौँका आर्थिक रुपले अति सम्पन्नशालीको जीवन व्यतित गर्नेहरु, नागरिकलाई सही सूचना प्रवाह गर्ने दायित्व बहन गर्ने पत्रकारहरु, सुशासनको नेतृत्व गर्ने उच्च तहका प्रशासकहरु, सामाजिक सुव्यवस्थापन कायम गर्न लागि न्यायको भूमिका निर्वाहकर्ता न्यायवेत्ताहरु, देशलाई कुन बाटोमा हिडाउने भन्ने दृष्टिकोणसहित राजनैतिक नेतृत्व दिने राजनीतिज्ञहरु, त्याग र निस्वार्थताको समाजमा उपदेश दिएर मानिसलाई परोपकारमा तल्लीन बनाउन सक्ने नमुनाका धार्मिक अगुवाहरुबाटसमेत आफ्ना मातापिताका लागि वृद्धाश्रम खोज्ने प्रवृत्तिमा बढोत्तरी भएको छ ।

– नेपाली लोक कथामा वृद्ध माता वा पिता वा दुवैलाई मातृपितृभक्त श्रवणकुमारको कथाको मोहजालमा पारी डोकोमा राखी पहाडबाट खसाल्न लैजाने छोराबुहारीको कथा सुनेर हजुर बा आमाको माया र बाँच्न पाउने अधिकारभन्दा पनि डोको पनि फालिन्छ कि ? भन्ने चिन्ताले नातिले जे गर्नुस्, मलाई मतलब छैन । तर यो डोको चाहिँ फालिनु हुँदैन र पुर्खौली परम्परा बचाउन पनि डोको फिर्ता ल्याइनु पर्दछ । तपाईहरुलाई पनि यसरी नै पहाडबाट खसाउन यो ऐतिहासिक डोकोले काम गर्ने छ यसर्थ यसकोे सुरक्षा हुनु पर्दछ । बा आमालाई भार (खर्पन) मा बोकेर तीर्थयात्रा गराउने पौराणिक पात्र श्रवणकुमारको प्रसिद्ध कथा र असक्त बुढाबुढीलाई जिउँदै भिरबाट फाल्ने संस्कारलाई भो हामी पनि बुढाबुढी भइन्छ भन्ने बुद्धि फिराउने बा डोको नफाल्नु होला जस्ता लोक कथा आजको अवस्थामा अझ बढी सान्दर्भिक भएका छन् ।

 – लोक कथाका अबोध बालकले आफ्ना पापी मन बनाएका बाबुआमामा पछुतो जगाएर त्यसपछिका समाजका धेरै सन्तानमा सकारात्मक चेतना भरिएको थियो रे अनि वृद्धवृद्धामा सन्तानबाट कर्तव्य पालनामा सहयोग पुगेको थियो भनिन्छ, तर खोई, आज भोलि के भएको हो, उक्त सकारात्मक मानसिकता विलुप्त भएको छ, आँखाको गहभरी आँसु टलपलाउन थालेका र मन भक्कानिएका प्रह्लाद गिरी गम्भीर भावुकतामा डुबेर  र रोइ हाल्छन् जस्ता देखिए ।

– राज्य तहमा सबै किसिमको पहुँच भएका सामथ्र्यवालाहरुमा समेत आफ्ना आमाबाबुप्रतिको उपेक्षा र अपमानको भारीले गर्दा तिनका वृद्धमातापिता पीडा बोकेर वृद्धाश्रममा शरण पर्न आएका छन् ।

 – मृत्युको डर र समाजको लाजको पर्वाह  नभएका मति बिग्रेका सन्तानहरुलाई तिनका पुर्खाले श्राप र भगवान् पशुपतिनाथले कुभलो नगरुन् । उनका व्यवहारबाट तिनका सन्तानहरुमा उल्टो संस्कार वा गलत सिकाइ नहोस् र भगवान्ले सही सद्बुद्धि प्रदान गरुन् भन्नाका लागि दिनहुँ प्रार्थना गर्न आउँछु भन्ने गिरीको भनाइ थियो ।

– सरकारी जागीरेहरु विभिन्न वैयक्तिक स्वार्थ र विकृत मानसिकतामा रमाउने भनी आरोप खेपी रहेका नेपालका कर्मचारीहरुमा गिरीको मानव सेवा, पितृमातृभाव र जीवनको वास्तविकता बुझाइले नतमस्तक पा¥यो । गिरीको निस्वार्थभाव र परोपकारीपनबाट सिक्नु र आफूलाई तदनुरुप ढाल्नु तिनको लगातारको २३ वर्षको वृद्धाश्रमको सेवाप्रतिको स्थीर सद्भावले सबै राष्द्रसेवकका लागि ती उत्प्रेरणाका लागि क्षमतावान् सत्पात्र देखिन्छन् ।  उनी सच्चा मानवमा नभई नहुने आवश्यक गुणका धनी लाग्दछन् । आफू भगवान्को पावन क्षेत्रमा दिनहुँ आएर सामाजिक कार्यको अवलोकनमा रमाउने गिरीको कथनले मानवीय सभ्यता र पूर्वीय दर्शनप्रतिको अत्यन्त गहिरो मार्मिकता पनि प्रस्तुत गर्दछ । वृद्धाश्रमका आश्रितहरुका कथा व्यथाःपोखरा वृद्धाश्रम सितापाइलामा २०७१ माघ १ गते वृद्धाश्रमका संस्थापक तथा सञ्चालक वसन्तकेशव पराजुली ७६ वर्षका तपस्वीसंग अन्तरक्रिया गर्दा वृद्धाश्रममा तत्काली अवस्थामा महिला ३८ र पुरुष २७ गरी ६५ जना वृद्धवृद्धा थिए । तिनको हेरचाह र व्यवस्थापन गर्न स्वयम् सेवी तथा कामदारहरु १२ जना क्रियाशील पाइए ।

त्यस अवसरमा लेखकका सोधिएका प्रश्नहरुको उत्तर तथा आफ्नाबारेमा जानकारी दिन सकेका केही प्रतिनिधि वृद्धाश्रम वासीका धारणा तपसिलका पाइ : – लमजुङ राइनासमोहरियाकोटका हरिबहादुर थापा ६३ वर्षका देव्रे शरीरको भाग पक्षाघातभएपछि घरपरिवारबाट अपहेलित भए, आश्रयको खोजीमा पोखराको कुनै वृद्धाश्रममा ३ वर्ष शरण पाए तर उक्त संस्था बन्द भएपछि पुनः सडकमा पुगे र प्रशासनको उद्धारमा १ वर्ष पहिला पोखरा वृद्धाश्रममा आश्रित गराइएका छन् ।

– पोखरा घारीपाटनका रामजी दवाडी ६५ वर्षका हुँदा वृद्धाश्रममा भित्रिए र ७ वर्षदेखि बसिरहेका छन् । काठमाडौ, सानेपाका ७७ वर्षीय हितलाल विष्ट दाहिने खुट्टाका पक्षाघाती हुन्, मानसिक उल्झनमा रहेका र पूर्ण सूचना दिन कठिन लागे पनि भाइबुहारीको अमानवीय व्यवहारबाट सडक हुँदै ९ वर्षदेखि भगवान्को कृपाले वृद्धाश्रममा बसेको घटना आँसु चुहाउँदै सुनाए ।

– पोखरा लेखनाथ वेगनासकी ८७ वर्षीय दमयन्ती अधिकारी ६ वर्षदेखि आश्रममा आश्रित र घरपरिवार आफन्त कोही नभएको बताइन् ।

– पोखरा निर्मल पोखरीकै ७० वर्षे तिलकमाया आचार्य १० वर्षको आश्रमबसाइमा सन्यास धर्मबाट दिक्षित भइन् र नित्य कर्मका रुपमा दैनिक ३ ⁄ ४ घण्टा जपतप, ध्यान गरी बाल विधुवा, निःसन्तानलाई मोक्ष दिने सन्यासीको बाटो समाएकोमा खुशी देखिइन् र माइती पक्षका भाइभतिजा तथा घरतिरका जेठाजुका छोराबुहारीले मायाममतासाथ भेट्न आउने गर्दा धेरै खुशी लाग्ने बताइन् ।

 – सर्लाही हरिवन ३ को हुँ भन्ने शक्तिमान तामाङ सन्तानहीन र पत्नीको मृत्युपछि सम्पत्तिहीन र आफन्त कोही नहुँदा सडकमा भौँतारिँदै पोखरा आइपुगेको र भगवानका कृपाले वृद्धाश्रममा २ वर्षदेखि बस्न पाएकामा दङ्ग छन् । उनी भन्छन् समाजका धेरै आश्रयहीन, उपेक्षित वृद्धवृद्धाहरुका लागि आश्रयस्थल खोल्ने र सञ्चालन गर्ने साँच्चै मानिसका रुपमा भगवान नै हुन् उनको विश्वास छ । पितापूर्खा नै अति समाजसेवी, प्रजातन्त्रका हिमायती, विकासका बाहक र अगुवा परिवारको संस्कारबाट प्रशिक्षित वसन्तकेशव पराजुली शिक्षणपेसाबाट निवृत्त जीवन १८ वर्षदेखि अहोरात्र यही संस्थाको विकासमा लागिरहेको पाइयो । वृद्धाश्रममा जीवनमा अति सम्पन्नताको जीवन बाँचेका तर समयक्रममा सम्पत्ति लुटिएका र सडकमा पु¥याइएकाहरु आफ्ना पिडालाई कापीमा कसरी गहनाका चित्र वा स्वरुप खिँचेर एकान्तमा विक्षिप्त अवस्थामा हाँसेर दुनियाँलाई तिमी पनि यो कुकर्मबाट बच है भन्ने शिक्षा पनि दिँदा रहेछन् । वृद्धाश्रममा बसाइ हुनाका कारण र वृद्धवृद्धाहरुका भोगाइ  पशुपति वृद्धाश्रमका १२ पुरुष र १२ महिला गरी कुल २४ जनासंग अन्र्तिर्क्रया गरियो । गिरीबाट प्राप्त भएको जानकारीले वृद्धाश्रमका जेष्ठ नागरिकका वास्तविकता र तिनका यथार्थता भरिएका अनुभव संगाल्न उत्प्रेरित ग¥यो । यसो गर्दा ३ ओटा जोडी वा दम्पत्ति नै वृद्धाश्रमको शरणमा बसिरहेका पाइए । ती वृद्धाश्रमका आश्रित प्रतिनिधि संवादकर्ताहरुका अभिव्यक्ति यस्ता थिए ।

– छोराछोरी जन्मिए पनि कुलाङ्गार सन्तानका कारणले, कर्म धर्महीन, छोरा र बुहारी भएकाले सडक छाप हुँदै यस वृद्धाश्रममा आइयो ।

– जति सन्तान भएपनि बुढेसकालमा सहारा दिने कोही भएनन् बरु निस्किएर जा भने अनि बाटो लागियो ।

– जीवनभर संघर्ष गरी धनसम्पत्ति जोडे पनि छोरा र बुहारीले देखी सहेनन् अनि झोला बोकेर जहाँ जहाँ आश थियो त्यहाँ पुग्यौँ तर सबैतिरबाट उपेक्षा पाएपछि सरकारी वृद्धाश्रम पशुपतिमा बुढाबुढी दुवै बसेका छौँ ।

– जीवनको पौरख, पूर्खाको गौरव र समाजका दौँतरीहरुको सम्झनाले पेट भरिएन र वृद्धाश्रम खोज्दै आइयो ।

– जीवनको सोच एकातिर र हुने वा भोेग्ने घटना चाहिँ धेरै फरक किसिमको भयो ?  वृद्धाश्रम आउनुका कारण सोधेर बल्लतल्ल शान्त हुँदै गएको मनलाई अशान्त नबनाउनु राम्रो होला भनी रुने वृद्धवृद्धाका कथा पनि धेरै थिए ।

– आफ्नो कोख र दूधका  लाम्टा चुसेर हुर्किने छोराबाट त हेरचाह भएन भने अर्काकी छोरीबाट जन्मेका नातिनातिनाबाट के को आशा गर्नु ? तर पनि साउँकोभन्दा व्याजको माया बढी भन्छन्, सम्झेर रुने बाहेक अरु के गर्न सकिन्छ र भनी भक्कानिएर रुनेहरुको कथाव्यथा पनि समानुभूतिसाथ वृद्धाश्रमका आश्रितसित आँसु बगाउँदै सुनियो ।

– सबैका सन्तान राम्रा, असल हुने घरका बुढाबुढी पाल्ने र सम्मानसाथ व्यवहार गर्ने तर आफ्नैले हेला, उपेक्षा र छिः छिः दूर दूर गर्दा कतै असल संस्कार नदिएको पाप पो आफूमाथि आइलागेको त होइन भनी पश्चातापको रुवाइ रुनेहरुको रोदन पनि त्यहाँ थियो ।

– हाम्रो समाजमा छोरीहरु त संस्कार र परम्पराले नै टाढाका हुने , छोरा थियो तर मरेझैँ ठान्दा हुन्छ । बुहारी र नाति नातिनाको त कुरा नै नसोध्नू भए बेस भनी ड्वाड्वाती रुने पनि देखिए ।

वृद्धाश्रमका  सिकाइहरु – कतिपय वृद्ध दम्पत्ति नै वृद्धाश्रममा बसेको देख्दा र परिचय गर्न पुग्दा जे जस्तो पनि अपमान र हेलाभाव आफन्तबाटै सहेर सडक हुँदै वृद्धाश्रममा आएकाले दुवैसंगै हुँदा पारिवारिक वातावरण र शान्ति छ भन्ने पनि पाइए ।

– आफ्ना भन्नेहरु नै धोकेबाज र लुटाहा भए र भएको सम्पत्ति लुटे । उपायहीन अवस्थामा पुगेपछि स– साना सन्तानलाई एस ओ एस वा अन्य सामाजिक संस्थामा जिम्मालगाएर वृद्धाश्रममा बस्न आएकाहरु पनि पाइए ।

– सडकमा आएपछि भौँतारिँदै वृद्धाश्रममा आएका  घर परिवार तथा आफन्तबारे कुनै जानकारी नभएकाहरु पनि पाइए ।

– सद्धे सन्तान मरेका वा भएकाले लाटो वा अपाङ्ग सन्तानलाई वास्ता नगर्ने अवस्थामा आफूले सकुन्जेल स्याहार गरी बसे पनि सम्पत्तिहीन भएकाले आफू असक्त भएपछि सहाराहीन सन्तानलाई अलपत्र छाडी वृद्धाश्रममा शरण आएकाहरु पनि पाइए ।

– बालबिवाह, बाल विधुवा र सन्तान विहीन भई माइती, मावलीमा पालिएका अभिभावक वा दाजुभाई हुँदासम्म संरक्षित भएका तर भदाहरुका पालामा वृद्धाश्रममा पु¥याइएकाहरु पनि पाइए ।

– भाग्यले ठगेर तीन श्रीमती विवाह र दर्जन सन्तान जन्माए पनि बाँचेका सन्तानले बाबु हुन्सम्म नभन्ने अवस्थाले वृद्धाश्रममा ल्याइपु¥यायो भनी गुनासो गर्ने पनि भेट्टिए ।

– अविवाहित, अपाङ्ग, हातको अभाव, आफ्ना भन्ने कोही नभएकी र नागरिकतासमेतबाट बञ्चित पिडितहरुलाई वृद्धाश्रमले आश्रय दिएको भेटियो ।

– जन्मस्थान, घरपरिवार र बाबु आमा र नाताकुटुम्बसम्मको जानकारी नभएका तर आफूले जान्दा घरेलु नोकर तथा विभिन्न हिँसाका शिकार भएकी र कुनै पुरुषले विवाह गरी यौवन र कमाएको सम्पत्ति लुटाएकी तथा उमेर ढल्किएपछि वा काम गर्न नसक्ने भएपछि सडक हुँदै वृद्धाश्रममा आएकी वृद्धा पनि भेटिइन् ।

वृद्धवृद्धामा अनुभूत आत्मज्ञान माथिको भोगाइका अनुभूतिले समाजमा सुख र आनन्दकासाथ बसी रहेका गृहस्थ र नागरिकहरुको हृदयलाई पनि छुनु पर्दछ भन्ने मान्यता नहुँदा नागरिकमा मानवीयता भर्न सकेनौँ । समस्त विश्वबन्धुत्व छाडी आफ्नैलाईसमेत कुटी वा वृद्धाश्रमको बास बनाउने सन्तानलाई सम्वेदनशील तुल्याउन सकेनौँ । फलतः समाजमा तपसिलका घटना वा बाध्यताले जेष्ठनागरिक ठगिएको तथ्य वास्तविकताभन्दा टाढाका होइनन् भन्ने स्थिति छ । तर वृद्धाश्रममा बस्नेहरु भन्छन् यति ज्ञान समयमा भएको भए किन दुख पाइँदो हो । पुराणहरुमा त्यही भएर भनिएको रहेछ, दुखमा हरिको सुमरन सुखमा बिर्सन होइ । अनि वास्तविक सुख कसरी हुन्छ त ? यस्ता तर्कवितर्क गर्ने वृद्धाश्रमवासीमा यी भावना पनि पढ्न र मनन गर्न पाइयो ।

– संसार झुट्टा र अर्थहीन,मान्छे फोस्रो अहम्भावी देख्दा कहिले हाँसो र कहिले मन नथामिएर भक्कानो छुट्ने ।

– मानिस अनाहकमा तेरो र मेरोको भावबाट मुक्त भई अर्कामाथि कुनै राग द्वेष र अन्याय नगर्नु नै वास्तविक जीवनको सच्चाइ हो ।

– घर, परिवार तथा समाज बनाउने शिक्षा एवम् संस्कृतिलाई बढावा दिइएन वा अनुशासन र संस्कारमाथि ध्यान पुगेन । नागरिकमा नैतिकता, धार्मिकता र आध्यात्मिकताको अभाव भयो । भौतिकता र नास्तिकताले प्रश्रय पायो सन्तानहरुले आफू पनि भोलि वृद्धवृद्धा हुने हो भन्ने बिर्सिँदा जेष्ठ नागरिक उपेक्षित भए ।

 – देशका राजनीतिक पार्टीका अगुवाहरु, सरकारका मन्त्री तथा उच्च तहका पदाधिकारीहरु नै उदाहरण र धर्मपरायण तथा नीतिवान् भएपछि नागरिक भूमिका बलियो हुन्छ, संरक्षितहरुले सुख पाउँछन् भन्ने कुरा सन्तान वा सरोकारवालाले नबुझ्दा वृद्धाश्रमको बास हुन्छ भन्ने आरोप लगाउनेहरु पनि भेटिए ।

– जन्मिँदा सद्धे धेरै हुन्छन् तर कहाँनिर घटना वा दुर्घटनाले अपाङ्ग भइने हो वा मरिने हो ? कुनै ठेगान छैन । अपाङ्गता चाह्ना होइन तर प्राकृतिक वा दुर्घटनाको खेल हो भनी जीवनलाई हाँसी, खुशी, सबैप्रति माया, स्नेह, दयाभाव राख्दै अगाडि बढेमा ईश्वरको अनुकम्पा हुने र शान्ति मिल्ने वृद्धाश्रमको सामूहिक बसाइ र पशुपति क्षेत्रमा हुने सतसंगतले सिकाएको पाइयो ।

– मनुष्य चोला अचम्भको छ, मर्न चाहेर नमरिने, बाँच्न चाहेर पनि बाँच्न नपाइने । काम गर्न नसक्ने अवस्थामा पनि पेटको भोकले सताइरह्ने र आफ्ना भनिनेबाट खेदिएको पिडा र सडकमा आउनुपर्ने बाध्यताको विस्मरणको उपाय र शान्तिको मार्ग ईश्वर भजन नै ठानेको देखियो ।

 – ईश्वर भजनको अनुकम्पा विना दुखको पिडामा परिन्छ । यो जीवन त आफ्नाले नारकीय बनाए तर सही मार्ग नचुने परलोक पनि आफ्नै कारण नर्क नै हुन सक्छ भन्ने आत्मज्ञान पनि वृद्धाश्रमबासीबाट सुनियो ।

– सम्पत्ति, सन्तानका लागि दुख, कष्ट गरी जसका लागि दुख कष्ट भनिएन उनैले सडकमा पु¥याए । संझिने र बिर्सने के कुरा ? वास्तविक जीवनको स्वाद वृद्धाश्रममा आएर पाउनेले लोभ, लालचको दुनियाबाट बच्दै सन्तुष्ट भई संसार चिनेर सद्बुद्धि र व्यवहारमा लागी ईश्वर प्रार्थनामा आफूलाई लगाउनु नै ठुलो बुद्धिमानी हो भन्ने सन्देश दिने पनि पाइए ।

 – मान्छे र मान्छेका बीच जातपात र भेदभाव भन्ने कुरा सबै सामथ्र्य हुने र सक्नेहरुको अमानवीय व्यवहार पो रहेछ । साझा फुलवारीका अनेकौँ रङविरङका सन्तानहरु मिलेर एक आपसमा सहयोगी हात बढाउने वृद्धाश्रमको सर्वजात सिद्धान्तले मानवताको सम्मान गरेको पाइयो र लक्ष्मीप्रसाद देवकोटाको ईश्वर पूजा हेर्न र साक्षात्कार गर्न हृदय भएका र नभएका दुवै थरी यौवनावस्थामा नै एकपल्ट वृद्धाश्रम गएर सिक्नु पर्ने तथ्य पनि सिकियो ।

जेष्ठनागरिकप्रतिका दुव्र्यवहार र सामाजिक अवस्थाआजभोलि सेवाभाव तथा व्यवसायका रुपमा पनि वृद्धाश्रमको सञ्चालनमा बढोत्तरी भएको देखिन्छ । नेपालका सबै जनताको सहज पहुँच भएको काठमाडौँमा मात्र २३ वटा निजी वृद्धाश्रम सञ्चालनमा छन् । नेपाल सरकारको लगानीमा सञ्चालिन पशुपति वृद्धाश्रम २३० जनाको क्षमताको छ । जहाँ निःशुल्क आवास, भोजन र सामान्य उपचारको व्यवस्था पनि सरकारकै लगानीमा हुन्छ । यसर्थ जेष्ठ नागरिकमाथि गलत व्यवहार, दुव्र्यवहार, उत्तरार्धको जीवनमाथि घरपरिवारबाट उपेक्षा र अपमान, चिनेका वा नचिनेका जोसुकैबाट वृद्धवृद्धा अपमानित हुनु र ठगिनु मानवीयतामाथिको उपहास हो । खानपान, रहनसहन र सुरक्षाप्रतिको बेवास्ता तथा आदरभावको अभाव नै दुव्र्यवहारको मुख्य पक्ष हो ।

 – देशका भौगोलिक अवस्था, सामाजिक चेतनाको स्तर, राजनीतिक तथा प्रशासनिक सुशासनको अभावले गर्दा मानवीय चेतनाको न्यूनता र मानवीय सम्बेदनशीलताको अभावमा कतिपय स्थानमा अझ पनि वृद्धवृद्धाहरु ठगिएको, लुटिएको र अन्यायमा परेको तथा पेन्सन वा वृद्धभत्तासमेत घरका वा परका टाठाबाठाहरुले हत्याएको भन्ने समाचार आउनु अत्यन्त दुखद घटना हुन् ।

– नेपालमा जेष्ठ नागरिकको अवस्था अध्ययन गर्दा भूमि भएका वा नभएका दुवै खालका जेष्ठ नागरिकहरु मुलुकी ऐनको प्रावधानबाट सबल र सुखद जीवनभन्दा थप पिडित भएको पाइन्छ ।

– हाम्रो सन्दर्भमा सम्पत्ति भूमिलाई मानिएको र कृषि पेसाप्रति चासो नराख्ने तथा भूमि छाडी हिड्ने नयाँ पुस्ताले नगद वा अन्य कारोवारमा मात्र रुचि राख्दा समाजमा वृद्धवृद्धाहरु थप पिडामा देखिए ।

– जेष्ठ नागरिक जीवनको चक्र हो र प्रत्येक व्यक्ति त्यो अवस्थाबाट मुक्त हुन सक्दैन भन्ने शिक्षा नवपुस्तामा राम्ररी दिन सकिएनछ ।

– समाजको विविधता सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, भाषिक र जातीय मात्र होइन भौगोलिक विशेषता, अशिक्षा र अन्धविश्वास वा कुप्रथाका पक्ष वा भोगाइले गर्दा जीवनशैलीका सहज र कठिन अवस्था सिर्जिएको रहेछ ।

– देशमा बेलाबेलामा घट्ने घटनावली अनुसार जेष्ठ नागरिकमाथि हुने ज्यादती र दुव्र्यवहारको अन्याय पुरुषका तुलनामा महिलामाथि धेरै हुने गरेको आँकडाले देखाउँछ ।

– जेष्ठ नागरिकमाथि दुव्र्यवहार देशव्यापी छ र मात्रात्मक अन्तर हुनसक्छ । समाजमा शिक्षित र आर्थिक सबल परिवार प्रायः आत्मनिर्भर भएकाले जीवनको उत्तरार्धमा पारिवारिक एक्लोपन र सन्तानको उपेक्षामा परेपनि भौतिक सेवासुविधामा अन्यका तुलनामा कम पिडित देखिन्छन् ।

– अशिक्षित, गरीब र ग्रामीण क्षेत्रका वृद्धवृद्धाहरु धेरै किसिमका दुव्र्यवहारका शिकार हुने अध्ययनले देखाउँछ । तराई/मधेशका क्षेत्रमा सिमान्तकृत, अल्पसंख्यक तथा पिछडा वर्ग वा अछुतको व्यवहार भोगी रहेको पाइन्छ ।

– गरीब परिवारको दुखद चित्र र बुढापाकाहरुले दिनहुँ आफन्त भनिनेबाट पाएको अपमानलाई वृद्धभत्ता र सामाजिक सुरक्षा कार्यक्रमले केही राहत दिएको भएपनि प्रशासनिक तथा आर्थिक सुशासनको अभावमा पहुँच कमजोर भएको र कागज मिलाएर आफ्नाले र कर्मचारीसमेतले खाइदिने गरेको आरोप पनि लाग्छ ।

– नेपालमा सरकारी तहबाट यस्ता अन्यायजन्य अपराध सम्बन्धी अभिलेखको विवरण वास्तविक रुपमा पाउन गाह्रो छ । तापनि पत्रपत्रिका, प्रहरी केस र सामाजिक रुपमा देखिने घटनाका बारेमा औपचारिक तथा अनौपचारिक चर्चा परिचर्चाले नेपाली सबै समाजका वृद्धवृद्धाहरु जीवनको उत्तरार्धमा अत्यन्त कठिन अवस्थातिर लम्किरहेको देखाउँछ ।

 – प्रहरी केसमा परेपछि, पत्रपत्रिकाले लेखेपछि सार्वजनिक सञ्चारमा चासो लिने र दिनहुँ समाचारका सुर्खी बनाइए पनि यी घटनाका सम्वेदनशील पक्ष र कारणको निदान विषयमा गहन खोजी गरी अपराध न्यूनीकरणमा समाज तथा देशमा गम्भीर बहस भएको देखिँदैन ।

 – २०–३० वर्षकै युवायुवतीकै अगुवाइमा ६०– ६५ वर्षमाथिका जेष्ठ नागरिकहरु विभन्न बहाना, आरोप र अन्धविश्वासी घटनाका शिकार हुनुले हाम्रो सामाजिक पछौटेपनको परिचय दिन्छ । यस्ता अमानवीय घटना समाजमा प्रशस्त घटिरहेका समाचार आउनु हामी सबैका लागि चिन्ताको विषय हो ।

आजको शिक्षामा जेष्ठ नागरिकको सम्वेदनशीलताको सम्बोधन  पूर्वीय सभ्यता र नेपाली समाजको संस्कृतिले अपनाएको चरित्र ठूलाप्रति आदर, मान, श्रद्धाभाव र आज्ञा पालना र आफूभन्दा सानाप्रति स्नेह, मायापूर्वक असल सत्मार्गको प्रदर्शन गरी गराई अभिभावकत्वको ग्रहण  हो । तर पछिल्ला अवधिमा नेपालमा यी पक्ष कमजोर भएको भन्ने कुरा सार्वजनिक भइरहेका छन् । समाजमा जेष्ठ नागरिकप्रतिको  सम्मान र कमजोरहरुको संरक्षण यी दुई विषयले मुख्य अर्थ राख्दछ तर पछिल्लो समयमा प्रायः सबै समाजमा यस्ता पवित्र मूल्यमान्यता क्षीण हुँदै गएको पाइन्छ । यस सन्दर्भमा शिक्षाले मानवीय सभ्यताको प्रारम्भदेखिका सामाजिक सबल पक्षहरुलाई गौरवका साथ नयाँ सन्तानमा हस्तान्तरण गर्न लाग्नु पर्ने देखिएको छ । यसर्थ विद्यालय तथा कलेजहरुमा विद्यार्थीहरुलाई तपसिलका विषयमा शिक्षा दिनु र व्यवहारिक रुपमा सम्वेदनशील नागरिक तयार पार्नु आवश्यक छ । देशमा जेष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, शोषणमा बढ्दो व्यापकता र हिँसाका प्रकृतिबारे सचेत पार्नु जरुरी छ ।

यसका लागि निम्न लिखित कुराहरु गर्नु पर्दछ :– समाजमा  जेष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार बढ्नु तथा ज्यादतीका पक्ष सिर्जना हुनुका कारणहरु खोज्ने ।– देशमा जेष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, शोषणमा बढ्दो व्यापकता र हिँसा रोकथाम गर्न परिवार तथा नागरिक समाज र सामाजिक अगुवाहरुलाई सचेत पार्ने ।

– जेष्ठ नागरिकमाथि हुने दुव्र्यवहार सम्बन्धी समाचारहरु जनसमक्ष सार्वजनिक गरी दोषीलाई दण्डित गर्न राज्य र समाजको भूमिका स्पष्ट पारी जघन्य अपराधलाई दण्डित गर्ने पद्धतिको विकास गरी भावी जीवन सुरक्षित तुल्याउन असल नागरिकको चेतना विद्यालय तहदेखि नै बालबालिकामा विकास गर्ने ।

– हामी मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, मान्यजन देवो भव, जेष्ठ अग्रज देवो भव र देवतुल्यो समादारको संस्कृतिमा हुर्किएका समाजका व्यक्तिले नयाँ पुस्तालाई संस्कार दिने हो र विश्वलाई सिकाउने पनि हो ।

– डलर भित्राउने लोभमा आफूले जानेका र पुर्खाले गरेका कुरा पनि नगर्ने र जथाभावी विषय भित्राएर पिछलग्गु हुने मानसिकता त्याग्नु पर्दछ ।

– सामाजिक अपराध न्यूनीकृत गर्ने र आफ्नो भावी जीवन सुरक्षित तुल्याई सभ्य र शिष्ट समाज निर्माण गर्न सबै बालबालिका तथा किशोरकिशोरीहरुलाई कलिलो अवस्थामा नै सुसंस्कृत शिक्षा दिने पाठ्यक्रमको उपयोग र व्यवहारमा उतार्न उचित शिक्षा दिनु आवश्यक देखिन्छ ।

– जन्म, यौवन र बुढ्यौली प्रत्येक प्राणीको जीवन चक्र भएको कुरा भावी पुस्तालाई बोध गराई आप्mना, समाजका वृद्धवृद्धा र भोलि आफूसमेत सुखी र सम्मानित जीवनको हकदार हुने संस्कार शिक्षाले बहन गर्न जरुरी छ ।

 – अमेरिका, युरोपका विकसित देशमा जेष्ठ नागरिकहरु सन्तानबाट अलग हुने र पारिवारिक रुपमा पिडित हुने अवस्था छ र मनो उन्मादमा वृद्धवृद्धासमेत हिँसाका शिकार हुने अपराध पूर्ण रुपमा नियन्त्रित छैन । त्यस अर्थमा हामी सुखी, शान्त र समृद्ध छौँ तर बाहिरी प्रभाव र घटनाहरुका तथ्याङ्कका अपराध वा घटनालाई हेर्दा नेपाल पनि दुर्घटनाको बाटोमा डोरिएको त होइन भन्ने देखिन आउँछन् । यसर्थ हाम्रो आफ्नोपनलाई जोगाइ राख्न राज्यले शिक्षा नीति र पाठ्यक्रम तथा शिक्षण सिकाइ क्रियाकलापमा जेष्ठ नागरिक मात्र होइन मानवीयताको पाठलाई जोड दिनु पर्दछ । तसर्थ सामाजिक न्यायका विषयहरु स्कुल वा कलेजका पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गरी कलिला उमेर बालबालिकाहरुमा संस्कार तथा कर्तव्यबोध सिकाउनु आवश्यक छ । जसले गर्दा पैत्रिक सम्पत्तिप्रतिको मोह मात्र होइन सन्तानको आमाबाबुप्रतिको कर्तव्य र जवाफदेहिता के हो स्पष्ट हुन्छ ? मानिसमा अनावश्यक सम्पत्ति संकलनको मोह घट्छ र भ्रष्टाचार शुन्य समाजको स्थापना गर्न सहयोग पुग्दछ । शिक्षा क्षेत्रमा देशले उपलब्ध गराएका सेवासुविधा र जेष्ठ नागरिकप्रति श्रद्धाभाव र सम्मान अभिवृद्धि गर्न तथा अनाचारको समाजलाई सुसभ्य बनाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

जेष्ठनागरिकका पक्षमा कानुनी सशक्तता र भावी दृष्टिकोण 
पूर्वीय सभ्यता र संस्कृतिको जगेर्ना गर्दै वर्णाश्रमका चार आश्रमको पद्धतिलाई जीवन्त तुल्याउँदै आजको भौतिक सुखसुविधा र ज्ञान र विज्ञानको सदुपयोग गरी हाम्रा मातापिताको जीवन र वृद्धवृद्धाको सम्मान हुने वातावरण सिर्जना गर्नु मुख्य अभिभारा रहेको छ । यसका लागि सामाजिक चेतना अभिवृद्धिका साथै कानुनी आधार खडा गर्नु पर्ने हुन्छ । समाजका प्रत्येक व्यक्ति जन्मपछि जेष्ठ नागरिक हुँदै मृत्युमा पुग्ने वा जाने कुरा सास्वत सत्य हो । यसर्थ राज्यको भूमिका नागरिक सुरक्षा र सम्वद्र्धनमा जवाफदेही हुने गरी जिम्मेवारी बहन गर्ने खालको हुनु आवश्यक हुन्छ । तसर्थ राज्यले आफैँ वा व्यवस्थापनको सुनिश्चितता गरी जेष्ठ नागरिकका हकमा कानुनी आधार बनाउनु आवश्यक देखिन्छ ।

– प्रत्येक जेष्ठ नागरिकलाई पालन, पोषण, सामाजिक सुरक्षा तथा आधारभूत स्वास्थ्यको हकको सुनिश्चितता गर्नु पर्दछ ।

– प्रत्येक जेष्ठ नागरिकलाई शारीरिक, मानसिक वा अन्य किसिमका शोषण विरुद्धको हक कायम गरिनु पर्दछ ।

– कुनै पनि दुव्र्यवहार, शोषणजन्य कार्यलाई अस्वीकार्य बनाएर कानुनबाट नै दण्डनीय, निषेधजन्य तुल्याई सोको पालना नगर्नेलाई दण्ड जरिवाना तथा क्षतिपूर्ति भराउने व्यवस्था गर्नु पर्दछ ।

– समाजका असहाय, अस्वस्थ, सुस्तमनस्थितिका, द्वन्द्व पिडित, विस्थापित एवम् जोखिममा परेका र आर्थिक स्थिति कमजोर वा दयनीय अवस्था भएका जेष्ठ नागरिकलाई राज्यबाट पूर्ण वा विशेष सुविधाको सुनिश्चितता गर्नुपर्दछ र जवाफदेही तुल्याउनु आवश्यक छ ।

– कुनै पनि जेष्ठ नागरिकलाई जोखिमयुक्त तथा असुहाउँदिलो काम नगराउने वा नलगाउने कानुनी प्रावधान हुनु पर्दछ र निषेधलाई बेवास्ता गर्नेलाई कठोर दण्डसजायको व्यवस्था हुनु पर्दछ ।

– जेष्ठ नागरिकको जीवनकाल अवधिसम्म असामान्य परिस्थितिमा बाहेक सामान्य स्थितिमा पैत्रिक सम्पत्तिका अंशियारबीच अंशबण्डा गर्न नपाउने व्यवस्था गर्नु पर्दछ र वृद्धवृद्धाको अग्र हक अधिकारको सुरक्षा गर्नु पर्दछ ।

– जेष्ठ नागरिकको जीवनकालमा छोराछोरी वा नातिनातिनाले कर्तव्यपूर्वक हेरचाह, स्याहार सुसार गरेको हुनु पर्दछ । आफ्नो कर्तव्य पालना नगरी उपेक्षित हुन परेमा जेष्ठ नागरिक घरपरिवारका जुनसुकै सदस्य वा टाढाका आफन्त वा अपरिचित जसले सेवा गर्दछ , उसले नै जेष्ठ नागरिकको आफ्नो जीवनको कमाइको भाग आफूखुशी दिन पाउने बनाउने । (स्रोत जेष्ठ नागरिकमाथि भएका दुव्र्यवहारसम्बन्धी प्रकाशित समाचारहरुको अध्ययन,२००८– २०१०, पेज ३९) ।

– समाजमा जे जति विकृति, विसंगति र अपराधका घटनाहरु छन्, तिनमा ७० प्रतिशतभन्दामाथि देशमा खुला गरिएको नसापान, नसालु पदार्थ वा लागु पदार्थ वा नागरिक स्वतन्त्रताका नाममा भइरहेका शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रको व्यापारीकरण भएकाले समाजलाई सभ्य, शिष्ट र समुन्नत बनाउन यस्ता पक्षमा राज्यको शासन व्यवस्था कडा हुनु र सबल,सक्षम र चरित्रवान् नागरिक उत्पादन एकमात्र उद्देश्श्य रह्नु पर्दछ ।

निचोड : यी माथिका विषयमा सरकारका पदाधिकारीहरु, सरकारी तथा गैरसरकारी संघसंगठनहरु, शैक्षिक संस्थाहरु, धार्मिक समूहहरु, जेष्ठ नागरिक सम्बद्ध अगुवाहरु, मानवीय भावना भएका सामाजिक कार्यकर्ताहरु सबै पक्ष जागरुक हुनु पर्ने र सम्वेदनशीलतापूर्वक मुलुक हाँक्न तयार भएको अवस्थाले मात्र सामाजिक न्याय, सुशान्ति र समृद्धिको कल्पना गर्न सकिन्छ । शिक्षा मुख्य विषय हो र नागरिकले देश विदेशमा वृद्धवृद्धाको अवस्था कस्तो छ ? हामीले गर्व गर्ने र लाज मान्नुपर्ने अवस्था तुलना गर्दै अगाडि बढ्ने सुअवसर शिक्षाले गरेन भने हाम्रा घरहरुबाट वृद्धवृद्धाहरु धपिँदै गर्दा आफूले पनि कुन दिन धपिनु पर्ने हो चालै नपाई समयले खेद्ने छ । तसर्थ पूर्वीय मान्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै अगुवाहरुमा जेष्ठ नागरिकप्रति सम्मान गर्ने बानी विकासका लागि शिक्षाको कडी पक्डिनु र विद्यालय तथा कलेजहरुलाई आधार बनाउनु आवश्यक रहेको छ । देशको आर्थिक मेरुदण्ड सम्हाल्ने र सामाजिक क्षेत्रको उच्च हैसियत राख्ने व्यक्तिहरुमा नै जेष्ठ नागरिक वा मातृपितृ कर्तव्य कमजोर पाइनु अत्यन्त दुखद र पीडादायी विषय बन्दै गएको छ । पूर्खाका सत्चरित्रको बखान, असल भोगाइ र व्यवहारिक सिकाइलाई हाम्रा सन्तानको जीवनमा उतार्ने र आदर्श संस्कृतिलाई जीवन्त बनाई बचाइ राख्ने शिक्षा पद्धतिको व्यवस्थापन आजको हाम्रो मुख्य चुनौती रहिआएको छ । गिरी जस्ता समाजसेवी र मानवीयताका धरोहर सार्वजनिक सेवक भइदिएमा समाजमा हरेक पिडितका मार्मिक कथनहरुले स्थान पाउने छन् र  हृदय छोएर प्रभावित पार्ने छन् अनि देशले सुशान्त समाज पाउने छ ।

(नोटः पछिल्लो समयमा बृद्धबृद्धाहरुले समाजमा पाउनुपरेको पीँडा र राज्यको अनुपस्थितिलाई हेर्दा अत्यन्तै सान्दर्भिक लागेकोले सुर्यखबर डट्कमले यो लेख प्रकाशित गरेको हो, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीका उपनिर्देशक रहनुभएका शैक्षिक बिशेषज्ञ ईश्वरीप्रसाद पोखरेलले बढो मेहेनतका साथ प्रमाणसहित उक्त महत्वपूर्ण लेख तयार पार्नुभएको छ । आशा छ सबै पाठकहरुलाई यसले केही न केही प्रेरणा दिनेछ भन्ने हामीलाई लागेको छ ।)