राजनीति

नेपाली राजनीतिक रंगमञ्चमा देखिन थाल्यो नयाँ संकेत, एमालेको रणनीतिमा यसकारण फस्न सक्छ कांग्रेस !

काठमाण्डौ । मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुकको राजनीतिक परिदृष्यमा केही परिवर्तन हुने संकेत देखापरेका छन् । सोमबार दुई नम्बर प्रदेशमा तेश्रो चरणको स्थानीय चुनाव सम्पन्न भएको छ ।

दुई नम्बर प्रदेशको राजनीतिक रस्साकस्सी सकिएसँगै राजीतिक दलहरु आगमी मंसिरमा हुने संघीय संसद र प्रदेशसभा निर्वाचनमा केन्द्रीत हुँदैछन् । आगामी मंसिरमा हुने चुनावमा कुन दलको राजनीतिक रणनीतिक कस्तो होला ? र कसले बाजी मार्ला भन्ने आंकलन गर्न अहिले केही हतारो भएपनि स्थानीय तहको निर्वाचनमा भएका परिदृष्यहरुले त्यसको संकेत दिइसकेको छ ।

वास्तवमा पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा ६ वटै प्रदेशमा नेकपा एमालेले अग्रस्थान हासिल गर्न सफल भयो । दोश्रोमा कांग्रेस र तेश्रो स्थानमा माओवादी केन्द्र पुग्यो ।

पहिलो र दोश्रो तहको चुनावमा अपेक्षित परिणाम नआएपछि तेश्रो चरणको चुनावका लागि नेपाली कांग्रेसले राम्रो मेहनत गरेको देखिएको छ । उसैपनि दुई नम्बर प्रदेश नेपाली कांग्रेसको राम्रो प्रभाव भएको क्षेत्रमा पर्दछ ।

त्यहाँको मतपरिणाम कस्तो आउँछ, एकदुई दिनमै थाहा हुँदैछ । नेपाली कांग्रेसको सिंगो नेतृत्व दुई नम्बर प्रदेशको चुनावमा खटिरहँदा पराजय बेहोर्नुपरेका अन्य ६ प्रदेशमाचाहि आगामी मंसिरको चुनावका लागि उसले के गर्दैछ ।

पहिलो र दोश्रो चरणको चुनाव सकिएको करिब ८ महिनापछि संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । भर्खरै आएको स्थानीय तहको मतपरिणामले ती क्षेत्रमा कत्तिको प्रभाव पार्छ ? यो विषयमा नेपाली कांग्रेसले ध्यान दिएको देखिदैन ।

नेपाली कांग्रेसको सिंगो नेतृत्व दुई नम्बर प्रदेशको चुनाव खट्यो, अब लगत्तै हिन्दुहरुको महान चाड दशै,तिहार र छठ पर्व लगातार आउँदैछन् । त्यसबेला सबै नेता, कार्यकर्ता र जनता चाडपर्वमा व्यस्त हुँदैछन् । त्योबीचमा राजनीतिक दलका गतिविधिहरु कसरी अघि बढ्छन्, त्यसले आगामी चुनावको मतपरिणामको भाग्य र भविष्यको फैसला गर्छ ।

यो बीचमा एमालेले आगामी असोज ६ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले प्रधामन्त्रीको उम्मेद्वार र सिंगो ७ प्रदेशका मुख्यमन्त्रीहरु तय गरेर अघि जाने निर्णय गर्दैछ ।  त्यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य दलहरुले पनि यो खालका निर्णय गर्लान् ? तर दुई नम्बर प्रदेश बाहेक ६ प्रदेशमा ब्रेक भएको साखलाई माथि उठाउने ढंगले कांग्रेसले योजना बनाउनुपर्ने सो पार्टीका नेता,कार्यकताहरुको दाबी देखिन्छ ।

माओवादीसँग भएको चुनावी तालमेललाई खासै नरुचाएका कांग्रेस कार्यकर्ताहरुको समुह पनि निकै ठूलो देखिन्छ । यो सवालमा समेत कांग्रेसले ध्यान दिनुपर्ने बहसहरु उठान भएका छन् ।

वास्तवमा नेपाली कांग्रेसका गढ क्षेत्रका रुपमा चिनिने दुई नम्बर र सात नम्बर प्रदेशमात्र होइन अन्य पाँचवटै प्रदेशमा सो पार्टीले थप मेहनत गर्नुपर्ने सुझावहरु आइरहेका छन् । त्यसर्थ, पनि सो पार्टीले तय गर्ने भावी राजनीतिक रणनीतिले उसको भविष्य निर्धारण गर्ने जानकारहरु बताउँछन् ।

कांग्रेसका प्रभावशाली नेताहरुको प्रभाव रहेका स्थानमा स्वत प्रभाव हुने र नभएका स्थानमा थप संगठन सुदृढिकरणका अभियानलाई अघि बढाउन कञ्जुस्याई गर्न नहुने जानकारहरुको सुझाव छ ।

एमालेको रणनीतिमा सतर्क रहन सुझाव !
नेकपा एमालेका नेताहरुका पछिल्ला अभिव्यक्तिहरुले एउटा संकेत दिन थालेका छन् । उनीहरुले कांग्रेस र माओवादीको गठबन्धनलाई रुचाएका छैनन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा एमाले नेता योगेश भट्टराइले कांग्रेस र माओवादीको चुनावी तालमेलबारे कडा आलोचना गरे ।

त्यस्तै सो पार्टीका अध्यक्ष ओली लगायतका नेताहरुले पनि तालमेलबारे कडा आलोचना गर्दै आइरहेका छन् । यसबाट के पुष्टि हुन्छ भने एमाले आगामी मंसिरको चुनावमा कांग्रेसलाई धक्का दिने आन्तारिक रणनीतिमा लागेको छ, यो कुरा नेपाली कांग्रेसले बुझेर आफ्नो रणनीति बनाउनुपर्ने धेरैको सुझाव छ ।