पु.समाचार

अब यस्तो हुने भयो संघीय र प्रदेशसभा निर्वाचनका लागि मतपत्र, निर्वाचन आयोगको यस्तो तयारी

काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको डिजाइन अन्तिम चरणमा पुर्‍याएको छ । समयको चाप रहेकाले आयोग समानुपातिक प्रणालीतर्फको मतपत्र तत्कालै छाप्ने तयारीमा छ ।

कस्तो मतपत्र बनाउने भन्ने विषयमा चरणबद्ध छलफल गरेपछि दुइटा मतपत्रमार्फत दुवै निर्वाचन गराउने निष्कर्षमा आयोग पुगेको हो ।

दुवै निर्वाचन एकै दिन सँगै गर्ने घोषणा भई चुनावी कार्यतालिका आइसकेको छ । संविधानअनुसार दुवै सभामा समानुपातिक र प्रत्यक्षबाट सदस्य चुनिने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ ।

एक मतदाताले दुइटा मतपत्र हातमा पाउनेछन् जसमा ४ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ र दुइटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ ।

आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतपत्रको डिजाइनलाई अन्तिम रूप दिन लागेको छ । तर, पहिलो प्राथमिकतामा भने समानुपातिक प्रणालीतर्फको मतपत्र छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दलको टुंगो लागिसकेकाले त्यसको मतपत्र डिजाइनमा समस्या नरहेको बताए । ‘२/३ दिनभित्र मतपत्र कस्तो हुनेबारे टुंगो लागिसक्छ, छलफलको अन्तिम चरणमा छौं,’ उनले भने, ‘आयोगले निर्णय गरेपछि दसैंभित्रै मतपत्र छाप्न पठाइसकिनेछ ।’ शुक्रबारको कान्तिपुरमा लेखिएको छ, मतपत्र भने सरकार मातहतको जनक शिक्षा सामग्री केन्द्रमा छापिनेछ ।