राजनीति

कांग्रेसले दुई नम्बर प्रदेशमा किन अपेक्षित परिणाम ल्याउन सकेन ? यस्तो छ भित्री रहस्य !

काठमाण्डौ । दुई नम्बर प्रदेशको पछिल्लो चुनावी परिणाम आएसँगै त्यहाँ हारजितले नेपाली राजनीतिक रंगमञ्चमा नयाँ बहस जन्माइदिएको छ । त्यसमा पनि नेपाली कांग्रेसको अपेक्षा विपरित आएको मतपरिणाम र त्यसका योजनाकारहरुको दूरदृष्टिमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

वास्तवमा दुई नम्बर प्रदेशको चुनावी माहोल सुरु हुँदै गर्दा सो क्षेत्रमा एकसय सिटभन्दा बढी मत ल्याएर मुलुकका अन्य प्रदेशमा पुगेको क्षतिलाई सन्तुलनमा ल्याउने नेपाली कांग्रेसको योजना रहेको थियो । दुई नम्बर प्रदेशको जिम्मा पार्टीका प्रभावशाली नेता विमलेन्द्र निधिको हातमा पुगेको थियो ।

पूर्वगृहमन्त्री समेत भइसकेका नेता निधिले दुई नम्बर प्रदेशको चुनावलाई आफ्नो भावी राजनीतिक भविष्यको रुपमा आंकलन गरेका थिए । उनले सो प्रदेशको चुनावी माहोल सुरु हुनासाथ कांग्रेसले एकसय सिटभन्दा माथि जित्ने दाबी गरेका थिए । उनको यो दाबी र स्प्रिटलाई हेरेर कांग्रेसले उनलाई चुनाव जित्ने कमाण्डरनै तोकिदियो ।

नेता निधिको गृहजिल्ला धनुषा हो । उनले दुई नम्बर प्रदेशमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेपनि अन्ततः अपेक्षित परिणाम नआउने देखिएको छ । सो क्षेत्रमा पहिलो पार्टी बनेपनि ५० सिटभन्दा माथि कांग्रेसले नल्याउने देखिएको छ । नेपाली कांग्रेसको मत मधेसी दलहरु राजपा, संघीय फोरम र माओवादी केन्द्रले कटाएका छन् ।

वास्तवमा कांग्रेसले दुई नम्बर प्रदेशमा अपेक्षा गरे बमोजिम मत ल्याउन किन सकेन ? यो विषयमा अहिले कांग्रेसभित्र गम्भीर बहस चलिरहेको छ । यसका केही करण देखिएका छन् ।

पहिलो कारण
प्रथमतः नेपाली कांग्रेसले दुई नम्बर प्रदेशमा आफ्नो चुनारी रणनीति नै बनाएन । चुनावी रणनीति बनाएको भए अहिलेको भन्दै निकै माथि सिट संख्या प्राप्त गर्ने निश्चित थियो । त्यसमा पनि पहिलो कारण त नेता निधिमा देखिएको चरम महत्वाकांक्षा । नेता निधिमा देखिएको चरम महत्वाकांक्षा र राजनीतिक दम्भले त्यो प्रदेशमा पार्टीभित्रै अन्तरविरोध गहिरियो ।

आफ्नै गृहजिल्लामा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा लगायतको टिमलाई निधिले नराम्रोसँग पेलेको आरोप कांग्रेस कार्यकर्ताहरुले लगाएका छन् । आफ्नै गृहजिल्लामा देखिएको यति ठूलो अन्तरविरोधलाई उनले हल गर्न सकेनन्, अन्ततः उनले आफ्नै गृहनगरमा हार बेहोर्नुपर्यो । त्यस्तैः पूर्वका सप्तरी र सिरहा जिल्लामा पनि त्यस्तै अवस्था देखिएको छ ।

कांग्रेस केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवको जिल्ला सिरहामा पनि त्यस्तै देखियो । उक्त जिल्लाको अन्तरविरोधलाई हल गर्ने नाममा पार्टीले रामचन्द्र पौडेल पक्षधर यादवका छोरा डा.सुभाष यादवलाई त्यहाँको मेयरमा उठाइयो । नेता निधिकै योजनामा उक्त कदम चालिएपछि कोषाध्यक्ष यादव त मौन बसिन् ।

यसले निधिप्रति ठूला नेताहरुको योजनामा चुनावी योजना बनाएको आरोप लाग्यो । कोषाध्यक्ष यादव नेता रामचन्द्र पौडेल पक्षधर नेतृ हुन् । त्यस्तै अन्य जिल्लाहरुमा पनि नेता निधिले आफ्नै ढंगले चुनावी योजना बनाउनाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।

दोश्रो कारण
माओवादी केन्द्रसँगको तालमेलको विषय । पहिलो र दोश्रो चरणको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो । तेश्रो चरणको चुनावमा पनि दुई पार्टीबीच तालमेल हुने हल्ला चलेको थियो । तर अन्तिममा आएर कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएन ।

तेश्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेल गर्न हतारिएको माओवादीलाई अन्तिममा कांग्रेसले छाँगाबाट खसालिदियो । कांग्रेसले माओवादीलाई दुई नम्बर प्रदेशमा पत्याएन । त्यसकारण तालमेल हुन सकेन । अहिले परिणाम आउँदा नेपाली कांग्रेसलाई माओवादीलेनै पिछा गरिरहेको छ ।

यसको अर्थ दुई नम्बर प्रदेशमा माओवादी केन्द्रको राम्रो मत झरेको छ । कांग्रेसले बेवास्ता गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनै करिब एक महिना सो क्षेत्रमा चुनावी अभियानमा व्यस्त भए । उनले जतिसक्दो छोटो समयमा धेरै मिहेनत गरे । पार्टीभित्रकै अरु नेताहरुले साथ नदिएपनि दाहालको यो मिहेनत प्रशंसा गर्न लायक थियो । परिणाम त सो क्षेत्रमा माओवादीले आंशिक प्रभाव छाड्न सफल भयो, अन्तत कांग्रेसको मत काटियो ।

तेश्रो कारण
तेश्रो कारण हो मधेसवादी दलहरुको प्रभाव । मधेसवादी दलहरुमा पनि राजपा र संघीय समाजवादी फोरमको प्रभाव । पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम र राजपाको बराबरजस्तै सीट आएको देखिन्छ । अग्रता पनि उस्तै देखिन्छ । वास्तवमा मधेसी दलहरुको गढ क्षेत्रको रुपमा चिनिने दुई नम्बर प्रदेशमा उनीहरुको प्रभाव हुनु स्वभाविक थियो ।

उनीहरुको प्रभावलाई कमजोर पार्ने योजनामा नेपाली कांग्रेस लागेन । परिणामतः उसले अपेक्षित जनमत हासिल गर्न सकेन । उल्लेखित कारण मात्र हैन अन्य केही सुक्ष्म कारणहरु पनि रहेका छन्, जसले कांग्रेसलाई सो क्षेत्रमा बहुमत ल्याउनबाट बञ्चित गराइदिए । नेता निधिका कारण मात्र होइन, यस्ता थुप्रै कारणले कांग्रेसले अपेक्षित मतपरिणाम आउन नसकेको देखिन्छ ।