खेलकुद

थ्री स्टार क्लबले पाउने भयो डेढ करोड

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको लापरवाहीका कारण एएफसी कप खेल्न नपाएको थ्री स्टार क्लवले डेढ करोड रुपैयाँ पाउने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशबकुमार विष्ट, एन्फा र थ्री स्टार क्लवबिच बुधबार यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौता एन्फाको आगामी साधारणसभाबाट पारित हुनु पर्ने छ ।

थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको भए पनि डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने मौखिक सहमति यसअघि नै भएको थियो । बुधबारको सम्झौतापछि थ्री स्टार क्लवले ३ किस्तामा आउँदो मंसिर १० गतेभित्र डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने छ ।

यस्तै एन्फाले थ्री स्टार क्लवलाई कम्तिमा पनि ३ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने छ । थ्री स्टार क्लवले अब एन्फाको आयोजना तथा सहकार्यमा हुने प्रतियोगितामा सहभागिता पनि जनाउने छ । यसअघि थ्री स्टार क्लवले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिता नखेल्ने बताउँदै आएको थियो ।