राजनीति

यसरी बन्दैछ ६ दलीय लोकतान्त्रिक गठबन्धन, जसले वाम गठबन्धनलाई टक्कर दिँदैछ !

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले तालमेल र सिट संख्या टुङ्गो लगाउने करिब निश्चित भएको छ । योसँगै लोकतान्त्रिक गठबन्धनले समेत पूर्णता पाउने भएको छ । कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो लगाउने तयारीलाई तिव्रता दिइरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दुईपटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको कार्यदलको बैठकले दुई पक्षीय र बहुपक्षीय छलफल गरेर सिट संख्या र लोकतान्त्रिक गठबन्धनलाई मूर्तरुप दिने निर्णय गरेको छ ।

कार्यदलले अन्य दलसँग समेत चुनावी तालमेलका लागि ढोका खुला राख्दै उनीहरूलाई पनि समेट्ने प्रयत्न जारी राख्ने निर्णय गरेको छ । त्यस्तै, कार्यदलले निर्वाचनमा ६ राजनीतिक दलहरु किन तालमेल गरेर अघि जानुपर्यो भन्ने विषयमा साझा अवधारणा तयार पार्नेछ । निर्वाचनका लागि ६ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याउने निर्णय कार्यदलले गरेको छ ।

बैठकमा कांग्रेसतर्फका कार्यदल सदस्यहरूले प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सरकारको स्थायित्व आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राजपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

संघीय फोरम नेपालका प्रतिनिधिले प्रधानमन्त्री निर्वाचनमै आफ्नो दलले मतदान गरेको दाबी गर्दै सरकारलाई समर्थन कायमै रहेको बताएका थिए । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र्र निधि, मिनेन्द्र रिजाल र पूर्णबहादुर खड्का, राप्रपाबाट बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र फोरम लोकतान्त्रिकबाट गोपाल दहित सहभागी छन् ।

लोकतान्त्रिक गठबन्धनका रुपमा हेरिएको यो धुर्वीकरणले वाम गठबन्धनलाई समेत टक्कर दिने हिसाबले हेरिएको छ । जसले आगामी मंसिर १० र २१ गतेको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्लेषकहरु बताउँछन् ।