बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।
राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उनलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो ।
सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो ।
चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उनलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो ।
सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो ।
गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उनी एकपछि अर्कोगरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए ।
उक्त महाधिवेशले राष्ट्रपति चिनफिङको नाम तथा उहाँको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो । जसका कारण उनी चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गरेको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ ।
उनले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराएका थिए ।
उनले पत्रकार सम्मेलनमा नै आफूले आगामी पाँच बर्षमा गर्ने कार्यक्रमहरुको बारेमा पनि सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।
उनले सो पत्रकार सम्मेलन गरिरहँदा उनको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका छ जना पोलिटब्युरो सदस्य पनि रहेका थिए ।
उनीहरुले पनि आगामी पाँच बर्षमा आफूहरुले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।