पु.समाचार

सयौंले निर्बाचन अधिकृतकै अगाडि एक व्यक्तिको मत अर्कोले हालेर यसरी उडईयो कानुनको धज्जी

बझांङ । एक व्यक्तिको मत अर्कोले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताएका छन् ।

‘घरबाट त आफै भोट हाल्छु भनेर आएकी हुँ,’ जयपृथ्वी नगरपालिका–१ की पानसरा सिंहले भनिन, ‘तपाईं बिगार्नु हुन्छ । बिग्रियो भने वर्बाद हुन्छ भनेर कराउन थाले । जेसुकै गर भनेर दिएँ ।’

आजसम्म कहिले पनि मत नहालेको बताउने ५५ वर्षीया उनको यसपाला आफ्ना मत छिमेकी भतिजाले हालिदिएको बताइन् ।

सुरुमा आफ्नो मत आफै हाल्नुपर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि १० बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतिमा महिलाले चाहेमा अर्कोलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका १ का कृष्ण विकले बताए । ‘१०–१५ जना महिलाको मत पनि एकै जनाले खसालेका छन्,’ उनले भने, ‘धेरैजसो महिलाहरु आफै हाल्न सक्दैनौं भन्न थाले । उनीहरुको मत अरुले हालिदिए ।’

महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्लाभरका मतदान केन्द्रमा देखिएको स्थानीयले बताएका छन् । विथ्थड चिर गाउँपालिकामा पनि अधिकांश मत पुरुषले नै हालेको त्यहाँका स्थानीय तेजबहादुर बोहराले कान्तिपुरलाई बताए । उनले भने, ‘२०–२५ वर्षका महिलालाई पनि आँखा देख्दिन । हात कांप्छ भनेर भन्नु भनेर पहिले नै सिकाए । एक–दुई जना महिलाको मत अरुले हाल्ने वित्तिकै त नियमै जस्तो भैहाल्यो ।’

कुनै कुनै मतदान केन्द्रमा भने महिलाको भोट अरुले हाल्ने विषयमा कडाई गरेपछि विवादसमेत भएको थियो । थलारा गाउँपालिका ८ मा रहेको शैलेश्वरी निमावि मतदान केन्द्रमा एकजना मतदाता देवराज उपाध्यायकी श्रीमतीको भोट श्रीमानले हाल्न खोज्दा झडप भएको हो । एमालेका कार्यकर्ताले भोट हाल्न नपाउने भनेपछि झडप भएको थियो । झडपका क्रममा एक जना एमालेका कार्यकता सामान्य घाइते भएका थिए ।

आफूहरुले महिलाको मत अरुलाई हाल्न नदिने विषयमा कडाई गर्न खोजे पनि मतदान कार्यमा खटिएका दलका प्रतिनिधिहरुले यसको बिरोध गर्न थालेपछि आफूहरु पछि हटेको मतदान अधिकृतहरुले बताएका छन् । ‘महिलाले मत विगार्छन । बदर हुन्छ भनेर सबै दलका प्रतिनिधि एकै स्वरमा विरोध गर्न थाले’ एक जना मतदान अधिकृतले भने, ‘त्यही विषयलाई लिएर अशान्ति हुने र मतदान नै बिथोलिने अवस्था आएपछि हामी पनि बाध्य भयौ ।’

कान्तिपुरका अनुसार, ‘महिलाको मत पुरुषले हाल्न नपाउने भएपछि सबै दलका प्रतिनिधि उठेर बाहिर गइदिन्छौ भन्न थाले । त्यही विषयले समस्या पर्नु भन्दा सबै दलको सहमतिमा निरक्षर महिलाको मत चाहेको व्यक्तिलाई हाल्न दिने सहमति गर्‍यौ,’ अर्का मतदान अधिकृतले भने ।

स्थानीयले महिलाको मत पुरुषले हालेको बताए पनि कतिपय मतदान अधिकृत र राजनीतिक दलका प्रतिनिधीहरुले भने आफूहरुको मतदान केन्द्रमा त्यसो नभएको भन्दै कुरा लुकाए ।