राजनीति

वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत

चितवन । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको उम्मेदवारी परेकामा ३७ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।

चितवनमा विजयी भएका र निकटतम प्रतिद्वन्द्वी रहेका कूल १८ जना बाहेक एक हजारभन्दा बढी मत ल्याउने उम्मेदवारको संख्या चार रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभामा १३ उम्मेदवार रहेकामा सात उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । उनीहरुमध्ये तीनजना स्वतन्त्र हुन ।

क्षेत्र नं १ प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा १०/१० जना उम्मेदवार थिए । प्रदेश ‘क’ मा पाँचजना र प्रदेश ‘ख’ मा तीनजना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।

क्षेत्र नं २ मा १५ जना उम्मेदवार रहेकामा आठजनाले १०० भन्दा कम मत ल्याएका छन् । एक सयभन्दा कम मत ल्याउनेमा तीन जना स्वतन्त्र छन् । क्षेत्र नं २ प्रदेश ‘क’ मा नौ र प्रदेश ‘ख’ मा १० जना उम्मेदवार रहेकामा ‘क’ मा तीन र ‘ख’ मा तीन जनाले एक सयभन्दा कम मत ल्याएका छन् ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभामा १४ उम्मेदवार रहेकामाा चार स्वतन्त्रसहित पाँचजना उम्मेदवारको मत एक सयभन्दा कम आएको छ । दुई जनाले १०० मत कटाएका छन् । स्वतन्त्र उम्मेदवार हरिप्रसाद दाहालको ३५५ र प्रवेश अधिकारीको १४० मत आएको छ ।

क्षेत्र नं ३ प्रदेश ‘क’ मा १ र प्रदेश ‘ख’ मा सात सातजना उम्मेदवार चुनावी मैदानमा थिए । प्रदेश ‘क’ मा दुईजना तथा प्रदेश ‘ख’ मा एकजनाले एक सयभन्दा कम मत ल्याएका छन् ।

कूल २२ जना उम्मेदवारको मात्रै एक हजार मत कटेको छ । जसमा विजयी र निकटतम प्रतिद्वन्द्वी उम्मेदवार बाहेकका चारजना रहेको निर्वाचन कार्यालयले जनाएको छ । वाम र लोकतान्त्रिक गठबन्धन बाहिरका विवेकशील साझा र मालेका उम्मेदवारले मात्र एक हजारभन्दा बढी मत ल्याएका छन् ।