राजनीति

राष्ट्रपतिलाई दबाब दिन ओली र दाहाल शितल निवासमा

काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीसँग भेटका लागि एमाले अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका साथमा ओली राष्ट्रपति निवास पुगेका हुन् ।

प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेपनि राष्ट्रिय सभा गठनको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न ढिलाई गरेपछि दाहालका साथमा ओली राष्ट्रपतिलाई भेट्न गएका हुन् ।

आफ्नो जिम्मेवारी राष्ट्रिय सभाको पनि निर्वाचन गराउनु रहेको बताउँदै प्रधानमन्त्री देउवा सत्ता हस्तान्तरण गर्न चाहिरहेका छैनन् भने राष्ट्रिय सभा गठन गर्न एमाले अध्यक्ष ओली असहमत छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहाल काँग्रेसको निर्णयमा सहमत देखिन्छ । एमालेले सरकार गठनका लागि राष्ट्रिय सभाको जरुरत नभएको बताउँदै आएको छ ।

राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश सरकारले राष्ट्रपति कार्यालयमा बुझाएको छ, जसमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने उल्लेख छ । एमालेले यो व्यवस्था स्वीकार गरेको छैन ।

नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश स्वीकृत गर्नु बाहेकको विकल्प राष्ट्रपतिसँग नभएको बताउँदै आएको छ । राष्ट्रपति भण्डारीले भने सहमति जुटाएर ल्याएमात्र अध्यादेश स्वीकृत हुने बताएकी छन् । ओली र दाहालको भेटपछि राष्ट्रपति अध्यादेश स्वीकृत लिने वा नलिने भन्ने अन्तिम निर्णय गर्नेछिन् ।

यता काँग्रेस कुनै पनि हालतमा विधेयक स्वीकृत गराउने पक्षमा छ । दुई दलको आ–आफ्नै अडान आएपछि राष्ट्रपति चेपुवामा परेकी छन् । अध्यक्ष ओली भने राष्ट्रपतिलाई दबाब दिने मनस्थिति लिएर राष्ट्रपति कर्याालय शितल निवास पुगेको स्रोतको दाबी छ ।

ओली हिजो(मंगलबार) हेकिप्टरबाट रसुवागढी नाका पुगेर आएका छन् । उनले चिनियाँ उच्च अधिकारीलाई भेटेको खुलासा भएको छ । नयाँसरकार गठन हुनै लाग्दा ओली चिनियाँ पक्षलाई भेट्न पुग्नुलाई निकै अर्थपूर्णरुपमा लिइएको छ ।