आर्थिक

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान निर्वाचित

रत्ननगर । उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले एक हजार ४८९ मत ल्याउँदा श्रेष्ठले एक हजार १४६ मत प्राप्त गरे ।

अधिवेशनमा प्रधान र श्रेष्ठको दुई प्यानलमा उम्मेदवारी परेको थियो । पदाधिकारी सबै प्रधान प्यानलका विजयी भएको संघका लेखा अधिकृत डम्मरराज गौतमले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ एक हजार ६१९ मतका साथ विजयी भए । वाणिज्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल, उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले उद्योगतर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ निर्वाचित गरेको छ । रिजाल भने श्रेष्ठ प्यानलका हुन् ।

वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित भए । धिताल श्रेष्ठ प्यानलका हुन् ।