आर्थिक

आइसिपीमा दुई दिनमै सात करोड राजस्व

वीरगञ्ज । एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) भन्सार कार्यालय सञ्चालन भएको दुई दिनमा नै रु सात करोड भन्दा बढी राजस्व संकलन भएको छ ।

आइसिपी उद्घाटन भएको पहिलो र दोस्रो दिन गरी रु सात करोड चार लाख राजस्वसंकलन भएको हो । हाल वीरगञ्ज भन्सार कार्यालयबाटै सञ्चालित आइसिपी भन्सार कार्यालयले इन्धन आयात तथा जुत्ता र म्याटको निर्यातबाट उक्त राजस्व उठाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार पहिलो दिन शनिबार ८५ र दोस्रो दिन ५५ गरी १४० वटा इन्धन टयांकर भित्रिएका छन् । उक्त सबै इन्धन टयांकर भारतको बरौनीबाट इन्धन बोकेर आएका हुन् ।

अहिले आइसिपी बाहिरदेखि सुक्खा बन्दरगाहसम्मको करीव ७०० मिटर हुलाकी सडक साँघुरो रहेकाले मोड पार गर्न गाह्रो पर्ने भएकाले उक्त सडकखण्ड छ लेनमा बिस्तार गरेपछि त्यहाँबाट सबैखाले सवारी नियमित आवतजावत गर्न सक्ने उनले बताए ।

नेपालबाट शनिबार उद्घाटनको दिन तीन वटा मालवाहक ट्रक जुत्ता र म्याट लिएर भारततिर गए भने आइतबार त्यस्ता सवारी भारततर्फ गएनन् । अहिले आइसिपी भन्सारमा कामको चापअनुसार कर्मचारी खटाइएको बताउँदै यादवले भने, “हाललाई चार÷पाँच कर्मचारी बसेका छौँ”, “भारततर्फको आइसिपीले दैनिक कति सामान छोड्छ, त्यसकै आधारमा कर्मचारी खट्छौँ ।”

भारत सरकारको रु दुई अर्बको सहयोगमा निर्माण भएको आइसिपीको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिउँसो नयाँ दिल्लीमा संयुक्तरूपमा स्वीच थिचेर उद्घाटन गरेका थिए ।

वीरगञ्ज अलौ–सिर्सिया खल्बाटोलास्थित १६५ एकड जग्गामा फैलिएको आइसिपी परिसरमा भवनसहित एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा, कार्यालय स्थापना तथा आधुनिक संरचनासहित चौकीमा सभाहल, मालसामान व्यवस्थापन जाँच, गोदाम, पार्किङ, तौल मेसिन, बैंकिङ, शीतगृह, सिसिटिभी निगरानी, सार्वजनिक उद्घोषण प्रणाली, प्राथमिक उपचार केन्द्र, कफी हाउस, सुरक्षाकर्मी बासस्थान र छात्रावासको व्यवस्था छ ।