अन्तर्राष्ट्रिय

सिरियाको हवाई शिविरमा भीषण क्षेप्यास्त्र आक्रमण

दमासकस । सिरियाको सैन्य हवाई शिविरमा सोमबार भीषण क्षेप्यास्त्र आक्रमण भएको छ । विद्रोहीको बलियो पकड रहेको सिरियाको डुमा सहरमा भएको यस विषाक्त रसायनिक ग्यास आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका उनका समकक्षी इम्यानुएल माक्रोंनले सयुक्त प्रतिक्रिया दिएका छन् ।

विषाक्त रसायनिक ग्यास आक्रमणले विश्वको ध्यान तानेको र यस विषयमा सोमबार अबेर राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल हुने अनुमान गरिएको छ ।

सिरियामा मध्य प्रान्त होम्सको डुमा सहरमा रहेको टि–४ अर्थात टियास सैन्य शिविरमा सोमबार बिहान सबेरै कैयौं क्षेप्यास्त्र आक्रमण भएको सिरियाली राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ । सानाका अनुसार यस आक्रमणमा मारिएका र घाइते व्यक्तिको भने विशेष तथ्यांक प्राप्त भएको छैन ।

यसैबीच सिरियाको राजधानीबाहिरको विद्रोही नियन्त्रित यस क्षेत्रबाट लडाकू र उनीहरूका परिवारको पहिलो समूह बाहिर निस्किएका छन् ।

त्यस क्षेत्रमा हप्तौँदेखि जारी घेराबन्दी र सैन्य कारबाहीको फलस्वरूप डुमाबाट विद्रोही बाहिरिने क्रम शुरू हुन लागेको बताइएको छ । त्यहाँ कैयौँ दिनदेखि हवाई हमला जारी रहेको थियो ।

सिरियाली सेनाले विषाक्त ग्यासको प्रयोग गरेको खबर बाहिर आएपछि अन्तर्राष्ट्रिय जगतमा भत्र्सना भएको छ । हवाई हमला र गोलाबारीका यस क्षेत्रमा सयौँ मानिसको ज्यान गइसकेको छ र आइतबार रुसी मध्यस्तकर्ताहरूसँग आत्मसमर्पणको क्रम शुरु गर्नको लागि एउटा सहमति भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग भएकोमा सिरियाली राष्ट्रपति बसर अल असद र उनकामित्र शक्ति राष्ट्रहरूको आलोचना गरेका छन् । ट्रम्पले रसायनिक हमलाको कारण असद र उनका मित्रशक्ति राष्ट्र रुस र इरानको कडा आलोचना गर्दै हमलाको लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विद्रोही नियन्त्रित डुमामा गरिएको आक्रमणमा दर्जनौँको संख्यामा सर्वसारणको ज्यान गएको छ ।