काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाएका छन् ।
नेपाल महिला संघका महासचिव खतिवडाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत रहेकोे बताउँदै भने, “संविधानको व्यवस्था बाहिर गएर अहिले सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुन्छ, यो विषयमा पार्टीले पटक पटक ध्यानाकर्षण गराएको छ, कुनै सुनुवाइ भएको छैन, सत्तारुढ दलले यस विषयमा तत्काल निर्णय गर्नुपर्छ ।”
न्यायपालिकालाई संसद्को मातहत राख्ने प्रयासमा काँग्रेसले सहमति जनाउन नसक्ने सांसद खतिवडाले प्रष्ट पारे । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा डा चिन्तामणि पोखरेललाई तीन वर्ष कार्यकाल बाँकी रहँदै राजनीतिक प्रतिशोधका आधारमा पदबाट हटाइनु आपत्तिजनक रहेको उनको भनाइ थियो । शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा १५३ अनुसार पद रिक्त भएको भनिने बाहेक अन्य कारणबाट हटाउन नपाइने व्यवस्था भएकाले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराए ।
सडकका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले रेल र पानीजहाजको भाषण गर्नु हास्यास्पद भएको उनको भनाइ थियो । विभिन्न क्षेत्रमा बढाइएको करको दर पनि गलत रहेको बताउँदै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आकाश छुँदा पनि सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्नाको साटो प्रश्रय दिइरहेको आरोप लगाए ।
पछिल्लो समय देशैभरि बलात्कारका घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै उहाँले जघन्य अपराध गर्ने दोषीलाई कडा कानूनी कारवाही गर्नुपर्ने माग गरे ।