कर्णाली प्रदेश

नेकपा कर्णाली प्रदेश कार्यदलबाट प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको पार्टी एकताका लागि गठित कार्यदलले नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई आज प्रतिवेदन बुझाएको छ ।
महासचिव पौडेललाई नेकपा संसदीय दल कार्यालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक युवराज ज्ञवाली तथा सदस्य जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्माले प्रतिवेदन बुझाएका हुन् । प्रदेश तहमा पहिलो पटक कर्णाली प्रदेशले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा प्रदेश सङ्गठन कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् र केन्द्रीय सल्लाहकार समितिमा रहनेको नामवाली बुझाइएको कार्यदलका सदस्य कँडेलले जानकारी दिए । पार्टी एकताका लागि नेकपाले सात वटै प्रदेशमा प्रदेशस्तरीय कार्यदल गठन गरेको छ । नेकपाले साउन मसान्तसम्मका लागि सात वटै प्रदेशलाई प्रदेशस्तरमा पार्टी एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।