राजबाबु श्रेष्ठ ‘सागर’ ‘कविता’
राजबाबु श्रेष्ठ/काठमाडौं । ए राजा !
तिमीलाई आफ्नै दरबार भित्रै
स्वार्थका दुश्मनहरूद्वारा
विभत्स हत्या त गरियो गरियो ।
तर तिमी त
जलिरहेको बादलमाथि पनि
कसरी ठिङ्ग उभिएर आफ्नो पैतालाई डाम्दै
बगैँचामा ओईलिएका फूलहरूलाई नियाल्दै
अनि मुख बिगार्दै आफ्नै नारायणहिटीतिर पो
एकटहकले हेरिरहेका छौ ।
सायद तिमी
आफ्ना पुर्वजले अर्जेका
आफ्नै देश नेपालका बारेमा
सोँचिरहेको हुनुपर्छ
अनि आफू बस्ने नारायणहिटी दरबार ।
ए राजा !
न फर्क तिमी त्यो बाटो
जुन बाटो तिम्रा शत्रुहरूले एम्बुस थापेर
राखेका छन्
तर, फर्क अवश्य फर्क तिमी
तिमी फेरि ओर्ल नेपाल आमाको गर्भको
भर्याङ्गबाट ओरालो झर्दै ।
म तिम्रो स्वागतको लागि
त्रीभुवन विमानस्थलमा होइन
आफ्नै गरिबी चौबन्दी चोली च्यातेर सिलाइएको
हातमा राष्ट्रिय झन्डा बोकेर
नेपाल आमाले तिमीलाई जन्माएको प्रहर
तिम्रो गर्भे सालनाल काट्न
म ढाईआमा पर्खिरहेकी हुने छु ।
ए राजा !
फर्क तिमी अवश्य फर्क तिमी
तिमी फेरि ओर्ल नेपाल आमाको गर्भको
भर्याङ्गबाट ओरालो झर्दै नेपाल आमाले
तिमीलाई जन्माएको प्रहर
हातमा लाग्ने कर्दो लिएर
तिम्रो गर्भे सालनाल काट्न
म ढाईआमा पर्खिरहेकी हुने छु ।