पर्यटन/संस्कृति

मिथिला संस्कृति सम्बद्र्धनका लागि एकताबद्ध हुनुपर्ने

काठमाडौँ । विशिष्ट पहिचान बोकेको मिथिला संस्कृतिको सम्बद्र्धनका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मिथिला संस्कृति समाजद्वारा आज यहाँ आयोजित ‘मिथिला सांस्कृतिक दिक्षा वा दशा’ विषयक विचार गोष्टीका वक्ताले सनातन संस्कृतिको सबैभन्दा पुरानो मिथिला संस्कृति ओझेलमा परेको भन्दै यसको महिमालाई जनमानसमा बुझाउन जरुरी भएको उल्लेख गरे ।

साथै, उनीहरुले मिथिला संस्कृति र मैथिली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन तथा पुस्तान्तरणका लागि अभियान नै चलिरइनुपर्ने खाचो औँल्याए । राष्टिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संस्कृतिमाथि राजनीतिक आक्रमण भएको र त्यसको मारमा मिथिला संस्कृति पनि परेको उल्लेख गरे ।

“संस्कृति एउटा पहिचान हो जुन सम्पूर्ण जीवनपद्धत्तिसँग जोडिएको हुन्छ, त्यसैले धर्म संस्कृतिमाथि विभेदपूर्ण राजनीति नगरौ संस्कृति बचाउन सबै एकताबद्ध भएर जुट्नुपर्छ,”–उनले भने । पूर्वमन्त्री डा. बङ्शीधर मिश्रले मिथिला कला र भाषा विश्वमै प्रसिद्ध भए पनि अहिले संक्रमणमा परेकाले यसको संरक्षणका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले मैथिली संस्कृतिलाई अझ फराकिलो बनाएर लैजानुपर्छ भने ।

राष्ट्रिय समाचार समिति (रासस) अन्तर्राष्ट्रिय शाखाका वरिष्ठ सम्पादक मोहिनी मिश्र र सांस्कृतिक अभियन्ता सन्तोष घिमिरेले धार्मिक तथा आध्यात्मिक महत्वको मिथिला संस्कृतिको सम्बद्र्धनका लागि मधेशी पहाडी सबै समूदाय सक्रिय भएर लाग्नुपर्ने बताए। विश्व हिन्दु महासङ्घका अन्तर्राष्ट्रिय महासचिव अस्मिता भण्डारीले मिथिला संस्कृतिको महिमा संसारभर छरिएपनि बुझाउन नसक्दा ओझेलमा परेको धारणा राखे ।

समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले मिथिला संस्कृति आफैमा विशिष्ट भएर पनि लोपहुने अवस्थामा पुगेकाले संरक्षणको अभियानको रुपमा कार्यक्रम गरिएको उल्लेख गरे ।