गण्डकी प्रदेश

आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा

पोखरा । हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ ।

हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमालका रुपमा लिने गरिन्छ । अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यसाथ अघिल्लो वर्ष अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सव आयोजक समितिको सक्रियतामा लगभग रु १२ लाख लागतमा हर्जोगको शालिक स्थापना गरिएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङका अनुसार अर्धकदको शालिक समुद्री सतहबाट चार हजार १३० मिटर उचाइस्थित अन्नपूर्ण आधार शिविरमा राखिएको छ । लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

समितिले फ्रान्समा रहेका हर्जोगका परिवारका सदस्यसमेतलाई बोलाएर चाँडै नै शालिकको अनावरण गर्ने तयारी गरेको छ । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्ने पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । त्यसको लगभग १० प्रतिशत हिमाल आरोहण गर्न जाने गर्छन् । अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर आठ हजार ८४८ मिटर अग्लो सगरमाथा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम छ । तर आरोहणका दृष्टिले कठीन हिमाल भएकाले अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याति प्राप्त गर्न नसके पनि यसले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको छ । अन्नपूर्ण हिमाल आरोहणका दृष्टिले जेठो हिमाल बन्नुका साथै अन्नपूर्ण क्षेत्र विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको एक भएकाले विश्वव्यापी रुपमा नै यस क्षेत्रको गरिमा र आकर्षण अझै बढाएको ट्रेकिङ एजेण्ट एशोसियसन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउँछन् ।

अन्नपूर्ण आधार शिविरमा हर्जोगको शालिक बन्नु आफैँमा महत्वपूर्ण रहेको बताउँदै उनले आधार शिविरसम्म पुग्ने पदमार्गलाई व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखे ।

अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य भएकै कारण यसको विकासका लागि अन्नपूर्ण गाउँपालिकाले सक्रियता देखाएको छ । गाउँपालिकाका प्रमुख युवराज कुँवरले पदमार्गको स्तरोन्नतिका साथै व्यवस्थित गर्न झिनुदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । पदमार्ग क्षेत्रमा जीर्ण बन्दै गएका काठका १८ वटा पुलमध्ये आधार शिविर नजिकैको दुई वटा पुल फेरिएको उनले जानकारी दिए ।

अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखरा पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा थप चासो र चर्चाको विषय बनेको पर्यटन व्यवसायी बताउँछन् । सन् १९५० भन्दा अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेको नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । स्व हर्जोगले पोखरासहित नेपाललाई विश्वभरि चिनाउने काम गरेको बताउँदै उहाँले त्यसपछि मात्र नेपालका हिमाल सम्बन्धमा अध्ययन अनुसन्धान शुरु भएको धारणा राखे।

पोखरा बसेका हर्जोग नेतृत्वको फ्रान्सेली टोली शुरुमा लाहाचोक घाचोक हुँदै अन्नपूर्ण हिमालतर्फ जाने प्रयास गरे पनि पछि घान्द्रुक हुँदै गएको पाइन्छ । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ जसले मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दी, कास्की र लमजुङका विभिन्न क्षेत्रलाई समेटेको छ ।