अन्तर्राष्ट्रिय

इडलीबका बारेमा छलफल गर्न इरानमा शिखर बैठक

तेहरान । इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा प्रभुत्व कायम राखेका बिद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

यो शिखर बैठक रुसी सेनाको सहयोगमा सिरियाली सेनाले इडलीबमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहेको पूर्वसन्ध्यामा हुन लागेको हो । सिरियाली विद्रोहीको मुख्य अखडा मानिएको इडलीबमा आक्रमण भए सात वर्षयताकै सबैभन्दा ठूलो मानवीय विपत्ती निम्तिने चेतावनी दिइएको छ ।

दमास्कस र मस्कोले इडलीबमा रहेका विद्रोहीलाई परास्त गर्ने प्रतिज्ञा गरिसकेका छन् तर शुक्रबारको शिखर बैठकले इडलीबमाथिको प्रत्याक्रमणको समय निर्धारण गर्नेछ ।

“हामीलाई थाहा छ कि सिरियाली सैनिकहरु यो समस्या सुल्झाउन तयारी अवस्थामा छन्,” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । सरकारी फौजबाट सन् २०१५ मा कब्जा गरिएको इडलीब र त्यस वरपरका इलाकाहरु मात्र बिद्रोहीको नियन्त्रणमा रहेका छन् । बिद्रोहीको नियन्त्रणमा रहेको यो नै अन्तिम क्षेत्र हो ।

टर्कीले भने यी बिद्रोही समूहलाई विगतमा मद्दत गरिआएको थियो । इडलीबसँग सीमा जोडिएको टर्कीले यहाँ १२ वटा सैनिक जाँच चौकी स्थापना गरेको छ ।

सिरिया सरकारले इडलीबमा सैनिक क्षमतालाई एकीकृत र सुदृढ गरिरहेको भएपनि हालैका साताहरुमा कृटनीतिक पहल व्यापक बनाइएको छ ।

सरकार निकट सिरियाली एक दैनिक अखबार अल–वतनले तेहरानको शिखर बैठकमा वार्ताका नतिजाहरुलाई छलफलमा राखिने लेखेको छ । बैठकमा सिरियाली सैनिक परिचालनका बारेमा प्रस्तुतिकरण पनि हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघ र दातृ समूहहरुले इडलीबमा यदि पूर्ण क्षमताको आक्रमण भए यो सिरियाको इतिहासमै सबैभन्दा ठूलो मानवीय विपत्ति हुने बताएका छन् । सिरिया युद्धका सातवर्षमा हालसम्म ३५०,००० को ज्यान गइसकेको छ भने एक करोड १० लाख मानिस विस्थापित छन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इडलीबमा रहेका सशस्त्र समूहहरुले अझै पनि सिरियाली सरकारी कार्यालयहरु र रुसी हवाई अखडामा आक्रमण गरिरहेको जानकारी दिँदै त्यस्तो समूहलाई जरैदेखि उखेल्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

इडलीबमा नरसंहार हुनसक्छ – एर्डोगान

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले बिद्रोहीको कब्जामा रहेको सिरियाको इडलीब प्रान्तमा जथाभावी बम र क्षेप्यास्त्र प्रहार गरिए त्यहाँ नरसंहार हुने चेतावनी दिए । “त्यस्तो नहोस् भन्ने भगवानसँग मेरो प्रार्थना छ । बमबारी भएमा त्यहाँ नरसंहार अवश्य हुन्छ,” एर्डोगानले किर्गिजस्तानको भ्रमणका क्रममा पत्रकारहरुलाई बताए ।

टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले अझै पनि सम्झौताको सम्भावना रहेको बताउँदै भने, “शिखर बैठक हुनुअघि हामीले निरन्तर सम्पर्क गर्ने प्रयत्न गरेका छौं र राम्रो नतिजा निस्कियोस् भन्नेमा हामी सचेत छौं ।” रुसले मङ्गलबारदेखि नै २२ दिनको विश्रामपछि पहिलोपटक इडलीबमा आक्रमण सुरु गरेको छ ।