पर्यटन/संस्कृति

पर्यटन प्रवद्र्धन गर्न च्याब्रुङ घर

तेह्रथुम । छथर गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि केपाङ अर्थात् च्याब्रुङ घर निर्माण गर्न थालिएको छ । गाउँपालिकाले पूर्वी नेपालमा बसोवास गर्दै आएका लिम्बू समुदायको ऐतिहासिकतासँग जोडिएकोे च्याब्रुङ घर निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको हो । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा लिम्बू जातिको सङ्ग्रहालयकै रुपमा विकास गर्ने गरी च्याब्रुङ घर निर्माण थालेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । गाउँपालिकाले अघिल्लो आवमा च्याब्रुङ घर निर्माण गर्न रु तीन लाख ५० हजार खर्च गरेको छ ।

चालु आवमा च्याब्रुङ घरका लागि रु १७ लाख बजेट विनियोजन गरेको छ । करीब रु एक करोड लागतको सो योजना अघि बढाइएको हो । “दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” नेपालीले भने । सो भवन च्याब्रुङ आकारको हुनेछ । त्यहाँभित्र छथर क्षेत्रका ऐतिहासिक लोक संस्कृति, बाजागाजा र लिम्बू रीतिरिवाज झल्कने वस्तु राखिनेछ । गाउँपालिकालाई नमूना बनाउन गाउँसभाबाट पर्यटन विकासका लागि यस वर्ष रु ९० लाख विनियोजन गरिएको छ । शुक्रबारे बजार नजिकै प्रधानमन्त्री पार्कदेखि भ्यु–पार्क, भ्यु–टावर, बाल बगैँचालगायत पर्यटकीय क्षेत्र निर्माण गरिनेछ ।

दूध अभाव

जिल्लाका विभिन्न बजारमा दूध अभाव भएको छ । म्याङलुङ, सङ्क्रान्तिबजार, वसन्तपुर, जिरिखिम्तीलगायत बजारमा उपभोक्ताले चाहेजति दूध खरीद गर्न पाएका छैनन् । किसानले सोझै सहकारीमार्फत तराईका डेरी उद्योगलाई दूध बिक्री गर्दै आएका छन् ।

“बजारमा दूधको अभाव छ,” म्याङलुङका तेजबहादुर खडकाले भने । किसानले गाउँकै सहकारी संस्थालाई दूध बिक्री गर्ने गरेका छन् । सहकारी संस्थामार्फत दूध बिक्री गर्दा किसानलाई बढी फाइदा हुने दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घका अध्यक्ष बुद्धिमान खुलालले बताए । गाउँमा सङ्कलन भएको दूध धनकुटाको सिंधुवा, जोरपाटी, हिले बजार, धरान, इटहरी र विराटनगरमा बिक्री गरिन्छ ।