काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भाषण गरेर हिँड्नु भन्दा स्व. टंकप्रसाद आचार्यको व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक तथा पूर्व प्रधानमन्त्री स्व. आचार्यको १०७ औँ जन्मजयन्तीका अवसरमा स्व. आचार्यको प्रतिमा अनावरण गर्दै मन्त्री पण्डितले उक्त कुरा बताएका हुन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्राङ्गणमा निर्मित स्व. आचार्यको अर्धकदको प्रतिमाको अनावरण गर्दै सामान्य प्रशासन मन्त्री पण्डितले आफ्नो जीवनमा २०४३ सालमा एक पटक मात्र पूर्व प्रधानमन्त्री स्व आर्चायसँग बिराटनगरमा भेट भएको स्मरण गर्दै आचार्यले राजनीतिमा देखाएको राष्ट्रभावको अहिलेका सबै राजनीतिज्ञहरुले अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री एवं टंकप्रसाद आचार्य प्रतिष्ठानका सल्लाहकार तथा भारतका लागि प्रस्तावित नेपाली राजदुत निलाम्वर आचार्यले स्व. आचार्य सरल, इमान्दार तथा राष्ट्रवादी नेता भएको वताए । कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद महेश बस्नेतले स्व. आचार्यको जीवनी सम्पूर्ण राजनीतिककर्मीहरुको लागि अनुकरणीय रहेको बताए, बस्नेतले टंकप्रसाद आचार्यले देखाएको बाटोमा नेपालको राजनीति हिँड्न सके मुलुक समुन्नत मात्र नभएर अनुशाशित समेत हुने दाबी गरेका थिए । सोही कार्यक्रममा प्रतिष्ठानका कार्यकारी सदस्य बद्रीबहादुर कार्कीले स्व. आचार्यको नेपालमा रहेको राजनीतिक जीवन सार्थक रहेको बताए । उनले निजामती कर्मचारी ऐन तथा कर्मचारीहरुको वृत्ति विकासमा ठूलो परिवर्तन आएको बताउँदै हाल सञ्चालनमा रहेको निजामती अस्पताललाई स्व. टंकप्रसाद आचार्य निजामती अस्पताल नामाकरण गर्न आग्रह गरे ।
प्रतिमा अनावरण कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिष्ठानका कार्यकारी सदस्य शान्ता मानवी, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा लगायतले स्व. आचार्यको योगदानको चर्चा गरेका थिए ।
टंकप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्व. आचार्यकी छोरी मिना आचार्य, राजनीतिक दलका नेता, सूर्वविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, पूर्व महालेखा परिक्षक तथा आचार्य बन्धु समाज नेपालका केन्द्रीय अधयक्ष भानु प्रसाद आचार्य, पूर्व सचिव माधव रेग्मी, आचार्य बन्धु समाज नेपालका महासचिब लगायत बिशिष्ठ ब्यक्तीहरुको सहभागिता रहेको थियो ।
प्रतिष्ठानले स्वं आचार्य निजामती सेवा शुरु गरेकाले समेत बानेश्वरस्थित निजामती अस्पतालको नाम निजामती अस्पताल राख्न पहल गरिरहेको छ ।

