-रवीन्द्र मिश्र -कविता
धेरै वर्षपछि
मेरा छोराछोरीले मलाई सोध्नेछन्
बुवा, तपाईंको पुस्ताले
यो देशलाई के दियो ?
म बोल्नै लाग्दा लरबराएको सुगाजस्तै
लरबराउने छु
अनि पर्रर्रर्र भन्नेछु
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दियो
संघियता, धर्म निरपेक्षता, समावेशीता
सबै दियो
छोराले भन्नेछस्
त्यो त तपाईं, मलाई
र हामीलाई दियो
तपाईंलाई लाग्छ कि
हामी देश हौं, देश हाम्रो मुटुमा छ ?
म पढ्नु पर्ने पाठ नपढी आएको
स्कुले विद्यार्थी झैं अक्मक्किने छु
र अलमलिँदै भन्नेछु
हो, हामी नै देश हौं
देश हाम्रो मुटुमा छ
अनि छोरी फिस्स हाँस्नेछिन्
र भन्नेछिन्:
तपाईंको निधार भ्याटशून्य छ
तपाईंको आँखा करशून्य छ
गाला सुन्डिएको छ
छाति चाउरिएको छ
आवाजमा अधर्म छ
शब्दहरू असत्य छ
प्रार्थनामा पाप छ
पुजामा सराप छ
सदाचारको सूचीमा
पुछारमा हराएको तपाईं
भन्नुहुन्छ — हामी नै देश हौँ
देश हाम्रो मुटुमा छ ?
होइन…होइन…
देश
तपाईंले अलकत्रा खाएको
धुलाम्य बाटोमा होइन
देश
तपाईंले महल ठड्याएको
उर्बर माटोमा होइन
देश
तपाईंले न्याय मारेको
अदालतमा होइन
देश
तपाईंले नैतिकता बेचेको
शहर(बजारमा होइन
देश
देहातमा छ
देउराली र भञ्ज्याङ्मा छ
देश
मुगु, मुस्ताङ र महोत्तरीमा छ
देश
घाँस र दाउराको भारीमा छ
देश
बोराले बारेको झुपडीमा छ
देश
दाल किन्ने पैसा नभ’र
पानीसँग मुछेको भातमा छ
देश
रित्तो खल्तीका कारण
सास गएको लाशमा छ
अनि भन्नुहुन्छ
तपाईको पुस्ताले सबै दियो
देश तपाईंको मुुटुमा छ ?
एकपटक
मुटुमा हात राखेर भन्नोस्, बुवा
तपाईंको पुस्ताले यो देशलाई के दियोरु
छेपारो जस्तै रङ्ग बदल्ने मान्छे दियो
सुत्केरी भत्ता खाने पुरूष सांसद दियो
चप्पल लाउने नेतालाई महलै महल दियो
विमानस्थलमा दिनदिनै झर्ने आँशुको डल्ला दियो
लाउडा दियो, धमिजा दियो
लोकमान दियो, निर्मला दियो
काण्डै काण्डको पुलिन्दा दियो
सुकेको दुधको मुण्टो लिएर
कर्णालीमा हाम फाल्ने आमा दियो
मुसहर बस्तीको एक्लो रूखमा
विहानै झुण्डिने बुवा दियो
अब भन्नोस्, बुवा
तपाईंको पुस्ताले यो देशलाई के दियो ?
म निशब्द भएपछि
छोरीले विस्तारै भन्नेछिन् :
बुवा, चित्त नदुखाउनुहोला
तपाईंको पुस्ताले
भएको पनि सबै लियो
यो देशलाई केही दियो भने
सिर्फ डाक्टर गोविन्द केसी दियो !

(डा केसीप्रति समर्पित लेखकको ट्वीटरबाट लिईएको)