लुम्बिनी

प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

राँझा । कार दुर्घटनामा परेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उनको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताए ।

“हामीले यहाँ उहाँको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ, थप सुधार आउनासाथ उपचारका लागि अन्यत्र लैजानुपर्दछ”, उनले भने । उनको टाउको, हात, छाती र पेटमा गम्भीर चोट देखिएको छ । डा. श्रेष्ठले मुख्य चोट छातीमा लागेकाले पाँच करङ भाँचिएको र पेटमा समेत रगत देखिएको बताए । ओलीलाई अहिले पनि आइसीयु कक्षमा ‘भेन्टिलेटर’मार्फत कृत्रिम श्वासप्रश्वास सञ्चालन गरिएको छ ।

ओलीलाई थप उपचारका लागि गए राति नै भारतको लखनउ लैजान भन्टिलेटरसहितको एम्बुलेन्स मगाए पनि अवस्था गम्भीर भएकाले लैजान नसकिएको उपचारमा खटिनुभएका शिक्षण अस्पतालका स्वास्थ्यकर्मी एवं नेकपाका नेता अब्दुल हुसेन खाँले जानकारी दिए । “हिजो अस्पतालमा ल्याउँदाभन्दा सामान्य सुधार देखिएको छ, तर अवस्था गम्भीर नै छ”, खाँले रासससँग भने, “चिकित्सकसँग परामर्श गरिरहेका छौँ, केही सुधार आउनासाथ काठमाडौँ वा लखनउ लैजाने तयारी भएको छ ।”

हिजो साँझ करीब साढे पाँच बजे तुलसीपुरबाट वीरगञ्ज जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा१८च ६८३६ नंको कार घोराही उपमहानगरपालिका–३ चिसापानी घुम्तीमा ठोक्कीँदा ओली गम्भीर घाइते भएका हुन् । बसमा सवार रुकुम मुसिकोट गाउँपालिका–२ निवासी ३६ वर्षीय रमिता शर्माको घटनास्थलमै मृत्यु भएको थियो भने प्रदेशसभा सदस्य ओलीसहित १४ घाइते भएका थिए । ओली आफैँले कार चलाएको बुझिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएका थिए ।