बिराटनगर । विवेकशील साझा पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई पार्टीको परम्परा अनुसार माटोको टीका लगाएर प्रदेश नं १ को संयोजक घोषणा गरेको छ।
आज बिराटनगरमा सयौं सर्वसाधारण, सो क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो।
सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेरमा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बनेका थिए। हाल पनि उनी जेसिसको देशव्यापी प्रशिक्षक भएका कारण प्रदेश १ का सबै जिल्लाहरूमा उनको परिचयको राम्रो सञ्जाल छ। झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आउनु भएका भेटवाल झापाका एकजना उद्यमी पनि हुन्।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नवनियुक्त प्रदेश संयोजक भेटवालले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीको नेतृत्वमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुशी र उत्साहित भएको बताए ।
पार्टीका संयोजक रवीन्द्र मिश्रले अनिल भेटवाल जस्तो व्यक्तित्वलाई प्रदेश नं १ को नेतृत्व सुम्पन पाउनु खुशीको विषय भएको बताए।
विवेकशील साझा पार्टीले यस अघि नै प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयोजकमा क्रमशस् समीक्षा बास्कोटा, महेश भण्डारी, अनुपमान सैँजु, गेहेन्द्र प्रसाद दहाल र गोपाल हमाललाई चयन गरिसकेको छ।
