सुदूरपश्चिम

खडेरीले खेतीयोग्य जमीन बाँझै

बैतडी । लगातारको खडेरीले बैतडीका थुप्रै फाँटहरु बाँझै छन् । हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता यहाँका किसानले हिउँदेबाली लगाउन पाएका छैनन् । पञ्चेश्वर गाउँपालिका वडा नं ३ का बलराम तिरुवाले समयमै हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको बताए । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदको समयमा खेत बाँझै छोड्नुपर्ने बाध्यता यहाँका किसानलाई छ । पञ्चेश्वरको वडा नं १, २, ३, ४ र ६ मा अधिकँंश खेत बाँझै रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

यसैगरी, शिवनाथ गाउँपालिकाका अधिकांश खेतहरु पनि सिँचाइको अभावमा बाँझै रहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । गाउँपालिकाका उच्च भू–भागमा सिँचाइ हुँदैन । बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा छैन । यो खेतीयोग्य जमीनको आधा हिस्सा हो । हिउँदमा खेतीपाती नहुँदा स्थानीय बासिन्दा रोजगारीका लागि भारत पस्छन् । सिँचाइ सुविधा नभएर अधिकाँश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

भिरालो जमीनमा ओसिलोपन नभएर लगाइएका सबै अन्नबाली सुक्ने भएकाले हिउँदमा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए । केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरे पनि अधिकाँश किसानका खेतबारी सिञ्चन हुँदैन । आकाशे पानीको भरमा खेती गर्दा बीऊ नै नउम्रिने हुन्छ । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबालीसमेत लगाउने गरेका छन् । खेतीयोग्य जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यतामा यहाँका किसान छन् ।

सिँचाइ हुन नसक्ने ठाउँमा खडेरीले प्रभाव पार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । जिल्लामा २५ हजार ५०० हेक्टर खेतीयोग्य जमीन भए पनि त्यसमध्ये १० हजार हेक्टर जतिमा मात्रै सिँचाइको सुविधा भएको उहाँले बताउनुभयो । खडेरीका कारण उत्पादन कम भएपछि तराईबाट खाद्यान्न आयात गर्नुपर्छ जिल्लावासीलाई ।