म्याग्दी । दुई वर्षअघि आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बाल मन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माण भएको छ ।
दक्षिण कोरियाको ग्लोबल एजुकेशन फर अल फाउण्डेशन, बेनी नगरपालिका र स्थानीयवासीको रु एक करोड दुई लाख ८४ हजारको लागतमा दश कोठे भवन पुनःनिर्माण भएको हो । भवन पुनःनिर्माण गरिएपछि टहरामा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य भएको प्रधानाध्यापक रामप्रसाद शर्माले बताए ।
२०७३ फागुन २५ गते विद्युत् सर्ट भएर आगलागी हुँदा आठ कोठे भवन जलेर ध्वस्त बनेपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो । फाउण्डेशनको रु ४० लाख, समुदायको रु ३५ लाख ५५ हजार र बेनी नगरपालिकाको रु २८ लाख अनुदान सहयोगमा भवन निर्माण गरिएको प्रअ शर्माले बताए।
भवन निर्माणका लागि स्थानीयवासी र प्रवासीबाट चन्दा जुटाएर रु २१ लाखमा जग्गा खरीद गरिएको छ । कक्षा ८ सम्मको पठनपाठन सञ्चालन हुने विद्यालयमा १५४ विद्यार्थी छन् । हाल दक्षिण कोरियामा रहेकी पूर्वविद्यार्थी सङ्गीता कार्की कुँवर र विनोद कुँवरको पहलमा फाउण्डेशनले सहयोग गरेको थियो ।
भवनको आइतबार ग्लोबल फर अल फाउण्डेशनका अध्यक्ष जङ्ग टि योङ र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा समन्वयकर्ता कुँवरको पहलमा दक्षिण कोरियामा सङ्कलन गरिएको रु सात लाख ६१ हजार विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।