म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका–४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु ५६ लाख ३५ हजार १७ को लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् ।
मालिका गाउँपालिकाले रु पाँच लाख ६३ हजार ५०१, नेपाल सरकारको रु २२ लाख ३५ हजार ९७५ र फिनल्याड सरकारले रु १२ लाख ५७ हजार ७३६ अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि ५८ घरधुरी उपभोक्ताले रु १५ लाख ७७ हजार ८०५ बराबरको श्रमदान गरेका उपभोक्ता समितिका सचिव लालमन शेरपुञ्जाले जानकारी दिए ।
उपभोक्ताले १६० दिनका दरले श्रम गरेका थिए । आयोजनाको दुई हजार ९७२ मिटर मुख्य र चार हजार १५५ मिटर शाखा पाइपलाइन रहेको छ । भौगोलिक विकटता, ढुवानी र यातायातको असुविधाको बाबजुत निर्धारित समयमै आयोजना निर्माण गरिएको सचिव शेरपुञ्जाले बताए ।
यसअघि एक घण्टा लगाएर कुँवाबाट पानी ओसारेर उपभोग गर्दै आएका महभिरवासीको घरघरमा धारा बनेपछि सुविधा भएको स्थानीय चन्द्रमा घर्तीले बताए । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।