बाग्मती

महानगरपालिकाले सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडा पिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । शौचालय निर्माण आवश्यक भएको स्थानीयवासीबाट माग भएपछि निर्माण गर्ने योजना बनाइएको उनले बताए ।

प्रवक्ता महर्जनले भने, “आवश्यक भएका ठाउँ हेरेर नयाँ निर्माण गर्ने र खराब अवस्थाका शौचालय सुधार्ने योजना छ ।” शौचालय बनाउन विभिन्न संस्था इच्छुक देखिएका छन् । बसपार्क, विभिन्न चोक लगायत भीडभाड हुने ठाउँमा शौचालय बनाउने योजना रहेको बताइएको छ । प्रत्येक वडामा कम्तीमा एउटा शौचालय निर्माण हुने गरी सम्झौता गरिनेछ । स्थानीयवासीको संलग्नतामा निर्माण हुँदा त्यसको संरक्षण हुने महानगरको विश्वास छ । पहिले उपमहानगरपालिका हुँदादेखि नै यहाँ एकाध भन्दा शौचालय छैनन् ।