बागलुङ । सामान्यतया निजी आवास बनाउने भूकम्प पुनःनिर्माण प्राधिकरण र जिल्ला कार्यान्वयन एकाइले बागलुङको एक सडक पनि निर्माण गर्न थालेको छ । भूकम्पको समयमा पहिरोले क्षतविक्षत् भएकाले बुर्तिवाङदेखि बुङ्गादोभान जाने सडक बनाउन लागिएको हो ।
चालु आर्थिक वर्षभित्रै सक्ने गरी यो सडकको काम शुरु भएको हो । यो सडक आगामी असार मसान्तसम्म सक्ने गरी काम भएका पुनःनिर्माण आयोजनाका उपनिर्देशक रामाशिष साहले बताए । सडक निर्माणको क्रममै हिउँदे बाटोमा तमानखोला गाउँपालिकाको केन्द्र बुङ्गादोभानमा बस पुग्न थालेका छन् । यो सडकमा दुईवटा पुलसमेत प्राधिकरणले बनाउने छ । यो सडक बनेपछि बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाको केन्द्रसम्म सहजै पुग्न सकिन्छ ।
आयोजनाले यो सडकका लागि रु १५ करोड ७९ लाख खर्च गर्न लागेको हो । अहिलेसम्म ५० प्रतिशत काम सकिएको साहले बताए ।