धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार क्रियाशील रहेको बताएका छन् ।
नेपाल अलैँची व्यवसायी महासङ्घको छैठौँ साधारणसभा तथा तेस्रो महाधिवेशनको आज धनकुटामा उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ अलैँचीको कूल उत्पादनको ८६ प्रतिशत उत्पादन गर्ने क्षेत्र भएकोले यसलाई व्यवस्थित गर्नका लागि आवश्यक नीति बनाएर अगाडि बढ्न सरकार तयार छ भने ।
प्रदेशमा उत्पादन हुने कृषि जन्य उपजलाई बाहिरी देशमा निकासी गर्नका लागि विभिन्न चरणमा छलफल भइरहेको बताउँदै मुख्यमन्त्री राईले उत्पादित सामग्रीलाई सजिलै कृषकले बेच्ने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भीर रहेको बताए ।