गण्डकी प्रदेश

पर्वतमा उद्यमीको खोजी, ठूलीपोखरी भरेर ताल बनाइदै

पर्वत । हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ४५० उद्यमी उत्पादन गर्न थालिएको हो । घरेलु तथा साना उद्योग विकास समितिले गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को सहयोगमा उद्यमी तयार गर्न थालेको हो । न्यून आय भएका समुदायलाई दिगो आयआर्जनमा सहभागी गराउन थोरै पूँजीमा सञ्चालन गर्न सकिने साना तथा घरेलु उद्यममा आधारित उद्यमी तयार पार्न थालिएको परियोजनाले जनाएको छ । सबै स्थानीय तहमा विभिन्न सीपमा आधारित तालीम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले जनाएको छ ।

शाखाको आर्थिक सहयोगमा सङ्गम तालीम तथा परामर्श केन्द्र र जिल्ला लघुउद्यमी समूह सङ्घको सहकार्यमा उद्यमी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। उनका अनुसार चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमले विपन्न समुदायलाई बाँसका मुढा, ब्युटीपार्लर, च्याउखेती, प्लम्बिङ, विभिन्न घरेलु तथा वन पैदावरको उपभोग गरी सामग्री बनाउने हस्तकला र सीपमा आधारित तालीम सञ्चालन गर्दै आएको न्यौपानेले बताए।

“अत्यन्तै कम आयस्तर भएका व्यक्ति छनोट गरेर सीपमा आधारित उद्यमी उत्पादन गर्ने गरी कार्यक्रम शुरु गरिएको हो”, न्यौपानेले भने, “सीप र आवश्यक प्रविधि हामी सहयोग गर्छौं । उद्यमीले जाँगर र तत्परता देखाउनुप¥यो ।” सीप सिकेका व्यक्तिले आफैँ लगानी गरेर लघु उद्योग चलाउनुपर्ने कार्यविधि रहेकामा आवश्यकताअनुसार घरेलुले सहयोग गर्ने न्यौपानेले बताए। तालीममा सहभागी हुन वार्षिक आय ३४ हजार ४३० भन्दा कम रहेका व्यक्ति छनोटमा परेका छन् ।

सेवामूलक संस्थासँंग तालीम तथा परामर्श केन्द्र र जिल्ला लघु उद्यमी सेवा सङ्घमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको फलेबास नगरपालिकाका प्रवक्ता टीकाराम गौंडेलले बताए। घरेलुका अनुसार कुश्मा नगरपालिकामा ५८, फलेवासमा ५८, मोदी गाउँपालिकामा ५८, जलजला गाउँपालिकामा ५८, बिहादी गाउँपालिकामा ५८, पैयुँ गाउँपालिकामा ५८ र महाशिलामा ५७ जना उद्यमी तयार हुने भएका छन् । यसअघि तालीम लिएका पुराना २४३ उद्यमीको सीप स्तरोन्नति गर्ने गरी तालीम सञ्चालन भइरहेको घरेलुले जनाएको छ ।

ठूलीपोखरी भरेर ताल बनाइदै

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ठूलीपोखरी मर्मतसम्भार कार्य शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २५ लाखको लागतमा ठूलीपोखरीको मर्मत गरी बाह्रैमहीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।

झण्डै २०० वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरिने छ भने पोखरीको गहिराइसमेत बढाइने योजना छ । उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना रहेको ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिए।

पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिने छ । मर्मतसम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार शुभारम्भ गरेका छन्। मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले जल तथा तालबाट समृद्धिको पथमा हिँड्न सकिने निष्कर्षका साथ पुराना पोखरी, चौतारी, ऐतिहासिक मठमन्दिरको संरक्षणमा लागेको बताए। ठूलीपोखरीमा कृत्रिम ताल बनाई पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्दा आयआर्जन र रोजगारी सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्ने उनले बताए।

प्रदेश सरकारले गण्डकी प्रदेशका दुई हजारभन्दा बढी ताल तथा पुराना पोखरीलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरणसमेत गठन गरेको बताए। मानव जीवन पानीसँग जोडिएको चर्चा गर्दै मन्त्री लम्सालले पोखरी तथा तालको संरक्षण गरी पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने बताए। प्रदेशसभा सदस्य जुनादेवी नेपालीले नेपालमा पर्यटनबाट नै विकास र समृद्धि प्राप्त गर्न सकिने बताईन्। फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले ऐतिहासिक धार्मिक महत्वका पुराना मठ, मन्दिरदेखि पोखरीलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।