शिक्षा

काठमाडौँ महानगरद्वारा स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

कठमाडौं । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिएका छन् ।

उनका अनुसार कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका छन् । नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ ।

त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहेका छन् ।
समितिलाई दुई महीनाको समयसीमाभित्र पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ ।

शिक्षा अधिकारी केसीले आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार पारिने बताए । आगामी शैक्षिकसत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने पनि उनले जानकारी दिएका छन् ।

“पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ”, उनले भने, “पाठ्यक्रममा काठमाडौँ महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिनेछ ।”पाठ्यपुस्तक निर्माणका लागि वडावडामा सुझावसमेत सङ्कलन गरिनेछ । महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ७५० विद्यालय रहेका छन् ।