समाचार

नवलपरासीमा भयो भयानक दुर्घटनाः दुई छुट्टै दुर्घटनामा परि ६ को मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका ८ मा भयानक दुर्घटना भएको छ । पूर्वपश्चिम राजगार्ग अन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृत्यु हुने पाँचै जनाकोे नाम ठेगाना अझै खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडौंका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना ७ ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो ।

बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तो घाइतेहरुको नामावली 

घाइते हुनेहरुमा सल्यान कालीमाटी गाउँपालिका ४ बस्ने रामबहादुर ओली, सोही स्थानकै प्रकाश केसी र लेखराज केसी, सल्यानकै कपुरकोट गाउँपालिका ४ बस्ने दीपक पुन र कपुरकोट गाउँपालिका ३ बस्ने दल बहादुर ओली छन् । यसैगरी शैलेश्वरी गाउँपालिका(१ बस्ने रोहित चन्द, रोल्पाको गंगादेव गाउँपालिका ६ बस्ने नवलसिंह ओली र पूर्वी रुकुमको भुमे गाउँपालिका ८ बस्ने प्रेम बहादुर पनि घाइते भएका छन् ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने बसका सहचालक सुजन बुढाथोकी, दाङ तुलसीपुर उपमहानगरपालिका ५ बस्ने ४० वर्षीय दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय कल्पना परियार, तुलसीपुर १ का प्रेम भुसाल, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका १ बस्ने नरबहादुर श्रेष्ठ, सुनसरीको इनरुवा १० बस्ने रिजवार आलम र गुल्मीका जगदीश अर्याल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस मंगलबार बिहान पौने पाँच बजेतिर नवलपरासीकै मध्यविन्दु नगरपालिका ७ चालीस किलो भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न चितवन पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।