काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा न्युर्योकमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमानदारीको प्रशंसा गरेका हुन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यलाई अन्तरराष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाएका छन् ।
“नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गको रुपमा संयुक्त राष्ट्रसङ्घका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ”, मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताए ।
संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सेनाको सङ्ख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिएउका थिए । दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी पनि उपस्थित थिए ।
यसैबीच फिनल्याण्ड र युएइले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स युएइका उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।
मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक व्यापारमन्त्री भिले इस्किनारी र संयुक्त अरब इमिरेट्सका विदेश राज्यमन्त्री अन्वर बिन मोहम्मद गार्गसले नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभएको हो । फिनल्याण्डका मन्त्रीसँगको भेटमा नेपाल–फिनल्याण्ड सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको थियो ।
भेटमा नेपाल र फिनल्याण्डबीच बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा साझेदारी गर्ने तथा विद्यमान सम्बन्धलाई नयाँ गति दिनेमा दुवै मन्त्रीबीच सहमति भएको छ । मन्त्री ज्ञवालीले नेपालमा लगानीको अनुकूल वातावरण बनेकाले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।
नेपालको आर्थिक विकासका निम्ति फिनिस सहयोगको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री ज्ञवालीले विकास र समृद्धितर्फको नेपालको यात्रामा फिनल्याण्डजस्ता नेपालको विकासका साझेदारबाट सहयोगको मात्रामा बढोत्तरीको अपेक्षा आफूले गरेको बताए ।
मन्त्री इस्किनारीले नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी युएइका विदेश राज्यमन्त्रीसँगको भेटमा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालीको श्रम गन्तव्य मुलुक युएइमा नेपालीका सुविधा र सुरक्षा, नेपालमा युएइको लगानी, व्यापारलगायत विषयमा केन्द्रित रहेर दुवै मन्त्रीले विचार आदान–प्रदान गरेका थिए ।