पर्यटन/संस्कृति

गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन

चितवन । श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका–१ मा रहेको गौसंरक्षण केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरीष नाथ, आश्रमका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, केन्द्रका संयोजक रामप्रसाद वस्ती, पूर्वसंयोजक टङ्कनाथ पौडेललगायतले गौसंरक्षणको महत्वका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा सभापति पोखरेलले स्थानीय समाजसेवी बालगोपाल चुकेले निर्माण गरेको सचिवालय र लक्ष्मण अर्यालले निर्माण गरेको भोजनालयको उद्घाटन गरेका थिए ।

दुवै संरचना रु पाँच/पाँच लाख खर्च गरेर निर्माण गरिएका हुन् । गौसंरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । जुरो भएको स्थानीय गाईलाई पूजा गरे साक्षात् लक्ष्मीलाई पूजा गरे सरह हुने भएकाले विभिन्न क्षेत्रबाट बिहानैदेखि पूजाआजाका लागि सर्वसाधारण आएको केन्द्रका संरक्षक निरन्जननाथ योगीले बताए । केन्द्रमा गोबर्धन पहाडको निर्माण गरिएको छ । सोही स्थानमा गाईको गहुँतलाई वाष्पीकरण गरी खानयोग्य बनाइएको गौअर्क लिन देशका विभिन्न स्थानबाट मानिस आउने गर्दछन् ।

धेरै दूध उत्पादन गर्ने कृषकलाई अनुदान

पूर्वी चितवनको कालिका नगरपालिकाले वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादनमा अनुदान दिन थालेपछि कृषक उत्साहित भएका छन् । गत आवमा १२ जना कृषकले अनुदान पाएकामा यस आव यो सङ्ख्या २५ पुगेको छ । अघिल्लो आवको दूधको आधारमा अनुदान दिन थालिएको हो ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार १० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई रु ३३ हजार ३३३ का दरले अनुदान दिइएको छ । उहाँका अनुसार यसरी अनुदान पाउने कृषकमा गत वर्ष ५८ हजार लिटर दूध बिक्री गर्नेसम्मका रहेका छन् ।

कृषकलाई व्यावसायिक रुपमा लाग्न प्रेरित गर्ने उद्देश्यले अनुदानमा जोड दिइएको प्रमुख श्रेष्ठले बताए । अनुदान दिन शुरु गरेपछि कृषक उत्साहित भएको उनको भनाइ छ । यसबाहेक कृषकलाई गोठ सुधारमा रु एक लाखसम्म, घाँसको बीउमा अनुदान, वोयर जातको बोका वितरण, ब्याड राँगा वितरण, ‘काउम्याट’मा अनुदान दिइएको छ ।