समाचार

राष्ट्रपती, उपराष्ट्रपती र प्रधानमन्त्रीले दिए दीपावली र नेपाल संवत्को शुभकामना

काठमाडौं । दीपावली तथा नेपाल संवत्को अवसरकामा विभिन्न विशिष्ट व्यक्तिहरुले शुभकामना दिएका छन् राष्ट्रपती विद्यादेवी भण्डारी, उपराष्टपती नन्दबहादुर पुन, प्रधानमन्त्री केपिशर्मा ओली र कांग्रेस सभापती शेरबहादुर देउवाले विभिन्न माध्यमबाट शुभकाना दिएका छन् ।

राष्ट्रपति भण्डारीले नेपाल संवत् ११४० तथा शुभ दिपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकि छन् । “नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकि छन् ।

यस्तै उपराष्ट्रपति पुनले पनि दीपावली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । दीपावली र नेपाल संवत्का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, “उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा हुँदैछ ।

”उपराष्ट्रपतिले सन्देशमा भनेका छन् , “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।

”महान् चाड शुभ–दीपावली र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउँदै उहाँले सन्देशमा यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा एकाकार भएर अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिउन् भन्ने कामना गर्दछु भनेका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले पनि शुभकामना दिएका छन् । ओलीले मुलुकका बिभिन्न पर्वले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।