एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नै दक्षिणपन्थी दल लिकुड पार्टीको नेतृत्वका लागिसमेत चुनौतीको सामना गर्नुपर्ने भएको छ ।
लिकुड पार्टीका तर्फबाट सरकारमा सहभागी भैसकेका पूर्वमन्त्री गिडियन सारले नेतृत्वका लागि आफू अघि बढ्ने मङ्गलबार स्पष्ट सङ्केत गरेपछि लिकुड पार्टीमा नै आगामी नेतृत्वका लागि नेतन्याहुको विकल्प खोजिएको बुझ्न सकिन्छ ।
एक बर्षको अन्तरालमा तीन निर्वाचन गर्दा ठूलो धनराशी खर्च गरेर पनि देशलाई स्थायी नेतृत्वका लागि वातावरण नभएको र नेतन्याहुमाथि भ्रष्टाचार अभियोग दर्ता भएको अवस्थामा गिडियनले पार्टीको नेतृत्वमा दावी गर्नुभएको हो ।
अब नेतन्याहुले पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नको लागि पनि यही डिसेम्बर २५ मा हुने प्राइमरी मतदानबाट उहाँ निर्वाचित हुनुपर्छ । “जनताले परिवर्तन चाहेका छन्,” सारले अर यहुदामा स्थानीय समय अनुसार सोमबार साँझ आफ्नो उम्मेदवारी दावीसहित गरेको एक कार्यक्रममा भने ।
उमेरले परिपक्व देखिने ५३ बर्षीय लिकुड पार्टीका नेता सारले नेतन्याहुको नेतृत्वको सरकारमा एक दशकभित्र विभिन्न मन्त्रालयको अनुभव हाँसिल गरेका छन् ।
नेतन्याहुले लामो समयदेखि सारबाट आफूलाई चुनौती आउनसक्ने सम्भावनालाई यस पहिलेदेखि नै महशुष गर्दै आएको स्थानीय सञ्चारमाध्यममा आएका समाचारहरूमा उल्लेख गरिएको छ ।
पार्टीमा नेतन्याहुले गरेका राजनीतिक नियुक्तिलाई लिएर सारले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर गत महिना नेतन्याहुलाई पदीय मर्यादाविपरित कर छली गरेको, घुस लिएको र विश्वासघात गरेको आरोपसहित तीन भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो ।
तर आरोपको उनले खण्डन गर्दै आएका छन् । इजरायलको कानून अनुसार कुनै व्यक्तिलाई भ्रष्टाचार आरोप लागेकै भरमा पदबाट हट्नुपर्ने बाध्यता छैन । तर अरोप पुष्टि भएमा भने पदबाट स्वत हट्नुपर्ने हुन्छ ।
सारले प्राइमरी मतदानका लागि आफ्नो उम्मेदवारी छिट्टै गर्ने बताएका छन् ।
इजरायलमा गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनबाट कुनै पनि दललाई सरकारको नेतृत्वका लागि स्पस्ट बहुमत नआउँदा राष्ट्रपतिले पार्टीहरूलाई गठबन्धन सरकारका लागि गरेको मिति पनि केही दिन पहिले सकिएपछि मुलुकमा आगामी मार्च २ मा निर्वाचन हुने भएको छ ।
सारले भने,“नेतन्याहु दुईपटकसम्म असफल हुनुभयो तर यो लिकुड पार्टीको नीतिका कारण नभै आफ्नै कमजोरीका कारण भएको हो । अब इजरायली लिकुड पार्टीले ‘पुनःजागरण गर्नुपर्छ ।”“यदि हामीले परिवर्तन गरेनौँ भने इजरायलमा वामपन्थी राजनीति हावी हुनेछ ।”
सारको घोषणामा ठूलो सङ्ख्यामा पार्टीका कार्यकर्ताबाट समर्थन आएको उनको समूहले बताएको छ । इजरायलमा पछिल्लो समय वामपन्थी पार्टीहरूको जनमतमा सुधारका सङ्केत देखिन थालेको छ ।