समाचार

प्रधानमन्त्री ओलीको घोषणानुसार महाकवि सङ्ग्रहालय निर्माण हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा मङ्गलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको हो ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको उक्त सङ्ग्रहालय निर्माणको काम जग्गा प्राप्तिका कारण ढिलाइ भएको थियो । प्रज्ञा प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोराहरू प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई प्रतिष्ठानले रु दुई करोड ५० लाख हस्तान्तरण गरिसकेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

देवकोटाकी छोरी अम्बिका रिमालले प्रधानमन्त्रीलाई सम्बोधन गरी ‘देवकोटाको घरलाई सङ्ग्रहालय बनाइ पाऊँ’ भनी निवेदन दिएका थिए । देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउने सम्बन्धमा गठित सिफारिस समितिको प्रतिवेदन–२०७६ लाई आधार मानी मन्त्रिपरिषद्को हालैको बैठकले निर्णय गरेअनुसार देवकोटाका छोराहरुलाई उक्त मुआब्जा दिइएको हो ।

उनिहरुले आफ्नो हक भोगको उक्त कविकुञ्ज र घरले चर्चेको जग्गामाथिको हक मालपोत कार्यालय चारखालमा आफैँ उपस्थित भई नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा कानूनतः हस्तान्तरण गरेको कुलपति उपे्रतीले बताएका छन् ।

कुलपति उप्रेतीले देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउन प्रधानमन्त्रीले देखाउनुभएको सद्भाव र उत्प्रेरणापूर्ण चासो तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन् । कुलपति उप्रेतीले भने “देवकोटा सङ्ग्रहालय चार तलाको हुनेछ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्न सर्वप्रथम विज्ञहरुसँग परामर्श गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ ।

भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोसिस गरिनेछ ।”सङ्ग्रहालयको भुइँ तलामा श्रव्यदृश्यको व्यवस्था गरी तयार हुने कक्षमा त्यहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाउनेछ । कुलपति उप्रेतीका अनुसार यो कक्ष अहिलेसम्मकै नौलो कक्ष हुनेछ ।

भवनको दोस्रो तल्लामा महाकवि देवकोटाले आफ्नो छोटो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् । देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्र« विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, फोटो, देवकोटाले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् । विभिन्न व्यक्तिलाई सम्पर्क गरी उनीहरुले सङ्ग्रह गरेर राखेका वस्तु उपलब्ध गराउन आग्रह गर्ने उनले जानकारी दिएका छन् ।

सङ्ग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेख्नुभएको लेखको पाण्डुलिपि र विदेशी लेखकले लेखेको पुस्तक सुरक्षितसाथ माइक्रोफिल्मिङ गरी अध्यावधिक गर्ने उप्रेतीले बताएका छन् । चौथो तलामा सङ्ग्रहालयमा आगन्तुुक, विदेशी अतिथि आएर छलफल तथा अन्तक्र्रिया गर्न सक्नेछन् । तला एक हिसाबले वाचनालयजस्तो हुने उप्रेतीको कथन छ । “सङ्ग्रहालयका लागि धेरै मानिससँग देवकोटासम्बन्धी धेरै सामग्री लिने प्रयास गर्नेछौँ”, उनले भने ।

देवकोटाबाहेक अरु साधकको पनि यस्तै सकारात्मक काम हुन्छ कि भनी सोधिएको प्रश्नमा उप्रेतीले लेखनाथ सदनलाई पनि विस्तार गर्ने योजना रहेको सुनाए । उनले कास्कीमा लेखनाथ पौडेलको परिवारलाई सम्पर्क गरी तीन रोपनी जग्गा लिएर लेखनाथ सङ्ग्रहालय बनाउने योजना प्रतिष्ठानले बनाए पनि व्यक्तिव्यक्तिको घर किनेर सङ्ग्रहालय बनाउन उपयुक्त नभएकाले त्यसलाई अगाडि नबढाइएको बताएका छन् । उ

नले थपे, “नेपालमा पहिलो पटक प्रतिभाको सम्मानस्वरुप सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई सङ्ग्रहालय बनाउने पहिलो चरणमा प्रवेश गरेको खुशीयाली साट्न चाहन्छौँ । त्यस अवसरमा देवकोटाकी छोरी दाता अम्बिका रिमालले सरकारको निर्णयपछि आफू निकै खुशी भएको बताउँदै सङ्ग्रहालय बनाउन आफूले सक्दो सहयोग गर्ने बचन दिएका छन् ।”

उपकुलपति जगमान गुरुङले नेपाली इतिहासका शीर्ष पुरुष देवकोटाको सम्झनामा बनाइने सङ्ग्रहालय भावी पुस्ताका लागि उपयोगी हुने बताएका छन् । सदस्यसचिव जगतप्रसाद उपाध्यायले देवकोटाको घरको कित्ता नंं २२९६ रहेको र यसको स्वामित्व गुठी संस्थानसँग रहेको भए पनि देवकोटाको छोराहरुबाट आफ्नो मोहियानी हक मात्र प्रज्ञाप्रतिष्ठानको नाममा आएको जानकारी दिएका छन् ।