काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि आयोगले आज(बुधबार) तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । दावी विरोधको समय पनि सोही दिनका लागि तय गरिएको छ ।
१९ गते आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । उम्मेदवारी मनोनयन दर्ता पुस २० गते हुने भएको छ । उम्मेदवारको नाम फिर्ताका लागि पुस २४ गतेको समय निर्धारण गरिएको छ ।
उम्मेदवारको अन्तिम नामावलि प्रकाशन पुस २५ गते हुनेछ । चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने छ। मतदानका लागि भने माघ ९ गतेको मिति तय गरिएको छ ।
७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।
राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जना सदस्यको पदावधि २० फागुनमा सकिँदैछ ।
रिक्त हुने १८ पदका लागि सबै प्रदेशबाट निर्वाचन हुने र एक जना राष्ट्रपतिले मनोनित गर्ने आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् ।