काठमाडौं । हास्यकलाकार आनन्द थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार आनन्द थापाको उनलाई छोराहरु जय र शंकर थापाले दागबत्ती दिए ।
भक्तपुरको झौखलेमा मंगलबार साँझ ७ः३० मा थापाको निधन भएको थियो । दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको गएराति आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको हो ।
उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । कुमारी, कान्छी, मायाप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका थापाले करिब ३ दर्जन बढी टेलिचलचित्र अभिनय गरेका छन् ।
गाईजात्रा महोत्सवमा हास्यब्यङ्ग्य प्रस्तुति समेत दिने थापाले केही नाटक तथा टेलिफिल्म लेखन निर्देशन पनि गरेका छन् । उनको ‘मेरो दश रुपैयाँ किलोमा आलु बिकेन’ प्यारोडी गीत एक समय निकै चर्चामा थियो ।