कर्णाली प्रदेश

वडाध्यक्षका भाइहरूले नगरपालिकाका अधिकृतलाई मरणासन्न हुनेगरी कुटेपछी..

रुकुम पश्चिम । रुकुम पश्चिममा हिजो साँझ कार्यालयबाट कोठातर्फ फर्कदै गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई वडाध्यक्षका भाइले मरणासन्न हुने गरी कुटेका छन् । आठबीसकोट नगरपालिका– ३ का अध्यक्ष केशरमान विकका भाइहरूले प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई मरणासन्न हुने गरि कुटेका  हुन् ।

वडाध्यक्ष विकका भाइ गोपाल विक र हरिश विकले कार्यालयको काम सकेर घर फर्किरहेका केसीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका पिडित परिवारले बताएको छ । वडाध्यक्ष विककै योजनामा ज्यान मार्ने उद्देश्यले  केसीमाथि प्रहार गरिएको पीडित परिवारको आरोप छ ।

सूचना अधिकारी गणेश चन्द र प्रशासकीय अधिकृत केसी आइतबार साँझ एकैसाथ कार्यालयबाट घर फर्केका थिए । कोठानजिक लुकेर बसेका विक दाजुभाइले सिधै धारिलो हतियार केसीको टाउकोमा प्रहार गरेका थिए ।

वडाध्यक्षका भाइको प्रहारपछि नगरपालिकाका सम्पूर्ण कर्मचारीले असुरक्षित महसुस गरिएको विज्ञप्तिमार्फत जनाएका छन् । उनीहरूले सुनियोजित ढंगले ज्यान मार्ने उद्देश्यले प्रहार भएको भन्दै कर्मचारीको सुरक्षा र दोषीमाथि कारबाहीको माग गरेका छन् । विक दाजुभाइलाई कारबाही नभएसम्म बिहीबारदेखि नगरपालिकाका सम्पूर्ण कामकाज ठप्प पार्ने कर्मचारीहरूले जनाएका छन् ।

नगरपालिकाले पनि एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख चीन भ्रमणमा रहेकाे बेला भएको उक्त घटनाले दुःखित बनाएको उल्लेख गरेको छ । नगर उप-प्रमुख गीता नेपालीले विज्ञप्तिमार्फत विवाद भएको भए पनि आपसमा छलफल गरी सल्टाउनुपर्नेमा सांघातिक हमला गर्नु अमानवीय कार्य भएको भन्दै दोषीमाथि तुरुन्त कारबाही गर्न प्रशासनसँग अनुरोध गरेकी छन् ।